वीरगञ्ज — नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजराले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भइरहेका राजनीतिक आक्रमणहरू केवल व्यक्तिविरुद्ध नभई राष्ट्रवादी धार र एमालेको वैचारिक शक्तिमाथिको प्रहार भएको बताएका छन्।
एक राजनीतिक कार्यक्रममा बोल्दै हजराले “केपी शर्मा ओली नभए एमाले सखाप हुन्छ, ओली बिना एमाले अनाथ हुन्छ” भन्दै ओली अहिले पनि एमालेको वैचारिक केन्द्र, संगठनात्मक शक्ति र जनआस्थाको मुख्य आधार रहेको दाबी गरे।
उनले एमाले केवल एउटा राजनीतिक दल नभई राष्ट्रवाद, विकास, स्थिरता र जनताको भरोसाको प्रतीक बनेको उल्लेख गर्दै त्यसको नेतृत्वलाई कमजोर बनाउने प्रयास योजनाबद्ध रूपमा भइरहेको आरोप लगाए।
“देशमा जब–जब राष्ट्रिय स्वाभिमानमाथि प्रहार हुन्छ, तब–तब जनताले केपी ओलीलाई सम्झिन्छन्। नाकाबन्दीको बेला होस्, संविधानको रक्षा गर्ने सवाल होस् वा विकास निर्माणका ठूला परियोजना अघि बढाउने विषय — ओलीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको इतिहास कसैले मेट्न सक्दैन,” हजराले भने।
उनले एमालेभित्र नेतृत्व परिवर्तनको नाममा भइरहेका गतिविधिप्रति समेत संकेत गर्दै अहिलेको अवस्थामा पार्टीलाई वैचारिक स्पष्टता, संगठनात्मक दृढता र जनतामाझ बलियो विश्वासका साथ अगाडि बढाउन सक्ने क्षमता ओलीमै रहेको जिकिर गरे।
हजराका अनुसार एमाले आज देशको सबैभन्दा संगठित र जनआधारित शक्ति बन्नुमा ओलीको राजनीतिक संघर्ष, निर्णय क्षमता र कार्यकर्तामाथिको विश्वास मुख्य कारण हो। “ओलीविरुद्ध हुने प्रत्येक प्रहार वास्तवमा एमाले कमजोर बनाउने षड्यन्त्र हो,” उनले दाबी गरे।
उनले वर्तमान राजनीतिक परिस्थितिमा एमालेमाथि घेराबन्दी गर्ने प्रयास भए पनि पार्टी अझ सशक्त रूपमा जनतामाझ उभिने बताए। “एमालेलाई सिद्ध्याउने सपना देख्नेहरू स्वयं राजनीतिक रूपमा समाप्त हुनेछन्,” भन्दै उनले कार्यकर्तालाई एकताबद्ध भएर पार्टीको पक्षमा उभिन आग्रह गरे।
हजराले आगामी राजनीतिक समीकरण, राष्ट्रिय मुद्दा र विकास निर्माणका एजेन्डामा एमाले अझ निर्णायक शक्तिका रूपमा प्रस्तुत हुने दाबी गर्दै जनताले फेरि पनि स्थिरता, विकास र राष्ट्रहितका लागि एमालेकै नेतृत्व रोज्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया