वीरगञ्ज— अवैध जुवा तथा क्यासिनो गतिविधिविरुद्ध कडा रूपमा उत्रिएको वडा प्रहरी कार्यालय बिर्ताले वीरगञ्जका विभिन्न क्यासिनोहरूमा छापा मार्दै ६ जनालाई पक्राउ गरेको छ। प्रहरी निरीक्षक बिक्रम सुवेदीको सक्रियतामा सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत उनीहरू जुवातास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिइएका हुन।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले किंग क्यासिनो, फर्च्यून सिटी गेमिङ क्लब तथा क्यासिनो माहजोङमा एकसाथ निगरानी तथा छापामारी गरेको थियो। सोही क्रममा भारतको बिहार राज्यका २६ वर्षीय गणेश कुमार, ३८ वर्षीय सन्दिप कुमार, ३१ वर्षीय सुरज प्रसाद, ४३ वर्षीय अल्लाह यादव, ३६ वर्षीय ओमप्रकाश यादव तथा वीरगञ्ज महानगरपालिका–३२ निवासी ३७ वर्षीय जमुदिन मियाँ अन्सारीलाई पक्राउ गरिएको छ।
छापामारीका क्रममा प्रहरीले क्यासिनोमा प्रयोग हुने रु. ५०० बराबरको सिक्का (क्वाइन), नेपाली रुपैयाँ ५५५, भारतीय रुपैयाँ १२०० र दुई थान मोबाइल फोन बरामद गरेको जनाएको छ।
वडा प्रहरी कार्यालय बिर्ताका इन्चार्ज प्रहरी निरीक्षक बिक्रम सुवेदीले पछिल्लो समय वीरगञ्ज क्षेत्रमा अवैध जुवा तथा शंकास्पद गतिविधि बढ्न थालेपछि निगरानी थप कडा बनाइएको बताएका छन। उनले कानुनविपरीत सञ्चालन हुने गतिविधिमाथि कुनै सम्झौता नगरी कारबाही अघि बढाइने चेतावनी समेत दिएका छन।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार पक्राउ परेकाहरूमाथि जुवा सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको छ। प्रहरीले सीमावर्ती क्षेत्रमा हुने अवैध आर्थिक गतिविधि नियन्त्रणका लागि आगामी दिनमा पनि यस्ता विशेष अभियानलाई निरन्तरता दिने बताएका छन।

प्रतिक्रिया