भारतको महावाणिज्य दूतावास, वीरगञ्जले जनकपुरधाम उपमहानगरपालिका तथा श्री जानकी मन्दिरको सहकार्यमा जनकपुरधामस्थित ऐतिहासिक एवं धार्मिक महत्व बोकेको श्री जानकी मन्दिरको पवित्र परिसरमा भव्य योग कार्यक्रम सम्पन्न गरेको हो।
१२औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को पूर्वसन्ध्यामा “स्वस्थ आयुका लागि योग” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका ६०० भन्दा बढी व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रममा मधेश प्रदेश सभाका सभामुख राम आशिष यादव, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह लगायत स्थानीय बासिन्दा, विद्यार्थी, योग साधक, सरकारी अधिकारी तथा समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरू सहभागी भएका थिए।
मुख्यमन्त्री यादवले आफ्नो सम्बोधनमा श्री जानकी मन्दिरजस्तो धार्मिक तथा सांस्कृतिक महत्वको स्थलमा योग कार्यक्रम आयोजना गरिएकोमा भारतको महावाणिज्य दूतावासको पहलको प्रशंसा गर्नुभयो। उहाँले योगले शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै नागरिकहरूलाई दैनिक जीवनमा योग अभ्यासलाई समावेश गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा बोल्दै भारतका महावाणिज्य दूत देवी सहाय मीनाले नियमित योग अभ्यासले दीर्घकालीन स्वास्थ्य, मानसिक एकाग्रता तथा आन्तरिक शान्ति कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को मूल विषयवस्तु अनुरूप स्वस्थ जीवनशैली र सामूहिक कल्याणका लागि योगलाई अपनाउन सबैलाई आह्वान गर्नुभयो।
कार्यक्रम प्रशिक्षित प्रशिक्षकहरूको नेतृत्वमा सामूहिक योग अभ्याससहित सम्पन्न भएको थियो। आयोजकका अनुसार यो कार्यक्रम अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा भारतको महावाणिज्य दूतावास, वीरगञ्जले आफ्नो कन्सुलर क्षेत्रभित्र सञ्चालन गरिरहेको कार्यक्रमहरूको शृङ्खलाको पाँचौँ कार्यक्रम हो।
कार्यक्रमले “एक पृथ्वी, एक स्वास्थ्यका लागि योग” भन्ने सन्देशलाई प्रवर्द्धन गर्दै स्वास्थ्य, सद्भाव र समग्र कल्याणको महत्वलाई थप उजागर गरेको आयोजकले जनाएको छ।



प्रतिक्रिया