विशेष अदालतबाट सफाइ पाएपछि थप आक्रामक रूपमा प्रस्तुत भएका अध्यक्ष गुप्ताले सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै एलानी जग्गा अतिक्रमण गरी बसेका व्यक्तिहरूलाई तत्काल जग्गा खाली गर्न आग्रह गरेका हुन।
उनले आफ्नो स्टेटसमा लेखेका छन्, “छिपहरमाई गाउँपालिका भित्र रहेका एलानी जग्गा बिघाका बिघा कब्जा गरी बसेका जमिनदारहरूलाई यथाशीघ्र खाली गरी आफ्नो प्रतिष्ठा जोगाउन अनुरोध गर्दछु। गाउँपालिकाले पटक–पटक सूचना गर्दा पनि अटेर गर्नेहरूले यसैलाई अन्तिम सूचना बुझी नेपाल सरकारको निर्णयमा साथ र सहयोग गर्न अपिल गर्दछु।”
अध्यक्ष गुप्ताले यसअघि पनि सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने विषयमा सक्रियता देखाउँदै आएका थिए। पछिल्लो अभिव्यक्तिलाई गाउँपालिकाभित्र भइरहेको सार्वजनिक जग्गा संरक्षण अभियानको निरन्तरताका रूपमा हेरिएको छ।
उनले अतिक्रमणकारीहरूलाई अन्तिम चेतावनी दिँदै सरकारी निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका छन। साथै, चेतावनीलाई बेवास्ता गरे कानुनी प्रक्रिया र प्रशासनिक कारबाहीमार्फत सार्वजनिक जग्गा खाली गराइने संकेत समेत दिएका छन।
विशेष अदालतको फैसलापछि अध्यक्ष गुप्ता थप आत्मविश्वासका साथ सार्वजनिक सम्पत्ति संरक्षण अभियानमा उत्रिएको चर्चा भई रहेको छ।


प्रतिक्रिया