शनिबार सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै महासचिव पोखरेलले प्रधानमन्त्रीले “वास्तविक क्रान्ति ज्ञानबाट सुरु हुन्छ” भन्ने अभिव्यक्तिको सन्दर्भ जोड्दै त्यसको व्यवहारिक रूप कस्तो हुने भन्ने प्रश्न उठाएका हुन्। “विस्थापित सुकुमवासीका लागि ‘ज्ञ’ क्रान्तिको खाका चाहियो प्रधानमन्त्रीज्यू,” उनले लेखेका छन।
उनले अतिक्रमण हटाउने अभियानका कारण प्रभावित र असुरक्षित महसुस गरिरहेका नागरिकलाई तत्काल स्पष्ट योजना र समयसीमा सहित आश्वस्त पार्नुपर्नेमा जोड दिएका छन्। मानवता, मानवीय जिम्मेवारी र दीगो समाधानतर्फ सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ।
पोखरेलले वर्तमान परिस्थितिमा सरकारको कदम कत्तिको “क्रान्तिकारी” छ भन्ने प्रश्न गर्दै पुनर्वासको ठोस रणनीति आवश्यक रहेको उल्लेख गरेका छन्।
साथै, उनले २०७५ सालमा बारा–पर्सामा आएको भीषण आँधीपछि तत्कालीन एमाले नेतृत्वको सरकारले छोटो समयमै पुनर्स्थापना कार्य सम्पन्न गरेको उदाहरण दिएका छन्। उक्त विपत्तिमा २८ भन्दा बढीको ज्यान गएको, ११५० भन्दा बढी घाइते भएका र झण्डै २५ सय घरमा क्षति पुगेको तथ्यांक स्मरण गर्दै उनले तत्काल राहत र आवास निर्माणको सफल अभ्यासलाई पुनः दोहोर्याउनुपर्ने बताएका छन।
हाल काठमाडौं उपत्यकामा नदी किनार अतिक्रमण हटाउने अभियान तीव्र भइरहेका बेला सुकुमवासीको पुनर्वास र व्यवस्थापनबारे राजनीतिक बहस थप चर्किएको छ।

प्रतिक्रिया