पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ स्थित पारसनाथ महादेव मन्दिरको गुठी जग्गा अतिक्रमण गरिएको भन्दै गाउँपालिका र गुठी संस्थानले संयुक्त रूपमा डोजर चलाएर अतिक्रमित संरचना हटाउन सुरु गरेका छन् ।
साविक मवान गाविस–२ मा रहेको पारसनाथ महादेव मन्दिरको मठअन्तर्गत कित्ता नम्बर २७५ मा पर्ने करिब ५ बिघा १७ कट्ठा १४ धुर क्षेत्रफलको पोखरी तथा गुठी जग्गा करिब ४५ जनाले अतिक्रमण गरी पक्की घर तथा टहरा निर्माण गरेको आरोप छ ।
स्थानीयका अनुसार उक्त जग्गा खाली गराउन सखुवा प्रसौनी गाउँपालिका र गुठी संस्थान पर्साले पटक–पटक सूचना तथा निवेदन दिए पनि अतिक्रमण हटाउने कार्य अघि बढ्न सकेको थिएन । पछि एक स्थानीय बासिन्दाले काठमाडौँस्थित गुठी संस्थानमा लिखित उजुरी दिएपछि सम्बन्धित निकाय सक्रिय बनेको बताइएको छ ।
त्यसपछि गाउँपालिका र गुठी संस्थानले संयुक्त रूपमा अतिक्रमित क्षेत्रमा डोजर चलाएर पक्की भवन तथा टहरा हटाउने काम सुरु गरेका हुन् । हाल अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउने कार्य जारी रहेको जनाइएको छ ।
स्थानीयवासीका अनुसार साविक मवान गाविस–१ अन्तर्गत कित्ता नम्बर १ मा रहेको ९ कठ्ठा ४ धुर तथा कित्ता नम्बर २ मा रहेको १५ कठ्ठा १७ धुर जग्गासमेत केही व्यक्तिले अतिक्रमण गरेर प्रयोग गर्दै आएका छन् ।
वर्षौंदेखि मन्दिरको पोखरी तथा गुठी जग्गामा कब्जा जमाएर बस्दै आएका व्यक्तिहरू अहिले संरचना भत्काइएपछि तनावमा परेका छन् । स्थानीयले गुठीको सम्पत्ति संरक्षणका लागि अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया