वीरगञ्ज— नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले पर्यटन प्रवर्द्धनको नाममा केवल भाषणबाजी र प्रचारबाजी गर्ने प्रवृत्तिप्रति कडा आपत्ति जनाएका छन। उनले स्पष्ट रूपमा चेतावनी दिँदै भने, “भाषणले होइन, कामले पर्यटन उठ्छ। समस्या समाधान नगरी केवल प्रचार गरेर केही हुनेवाला छैन।
वीरगञ्जस्थित मकालु होटलमा आयोजित “आन्तरिक पर्यटन प्रवर्द्धन अभियान” अन्तर्गतको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष बन्जाराले पर्यटन क्षेत्रको वास्तविक अवस्था उजागर गर्दै सम्बन्धित निकायको निष्क्रियतामाथि प्रश्न उठाए।
उनले पर्यटन प्रवर्द्धनका नाममा वर्षौंदेखि एउटै शैलीको कार्यक्रम, भाषण र आश्वासन दोहोरिँदै आएको तर ठोस परिणाम नआएको भन्दै असन्तुष्टि पोखे। “समस्या ज्यूँका त्यूँ छन, तर भाषण भने बढ्दै गएको छ। अब काम गर्ने समय हो, देखाउने होइन,” उनले तर्क गरे।
अध्यक्ष बन्जाराले सिमा क्षेत्रमा हुने झन्झट, अव्यवस्थित पूर्वाधार, सुरक्षाको नाममा हुने दुर्व्यवहार र समन्वयको अभावलाई मुख्य समस्या औंल्याउँदै यिनको समाधान नगरेसम्म पर्यटन क्षेत्रले गति लिन नसक्ने बताए।
उनले सम्बन्धित निकायलाई सिधा चुनौती दिँदै भने, “यदि साँच्चै पर्यटन बढाउन चाहन्छौं भने, जमीनमा देखिने परिवर्तन ल्याउनुपर्छ। नत्र यस्ता कार्यक्रम केवल औपचारिकतामा सीमित रहनेछन।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि पर्यटन क्षेत्रका चुनौतीहरू उठाएका थिए, तर बन्जाराको अभिव्यक्ति सबैभन्दा आक्रामक र स्पष्ट देखिएको थियो।

प्रतिक्रिया