नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रतिशोध र आग्रहका आधारमा नभई कानुनी तथ्य र प्रमाणका आधारमा मात्र छानबिन अघि बढाउन सरकारलाई सुझाव दिनु भएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै अरूलाई फसाउने उद्देश्यले खाल्डो खन्न खोज्दा अन्ततः त्यसैमा आफैँ पुरिन सकिने भन्दै सचेत गराउनुभएको हो। पुर्खाको भनाइ उद्धृत गर्दै उहाँले ‘अरूलाई पुर्ने खाल्डो खन्दा आफैँ पसेर च्यापुसम्म पुरिने’ अवस्था आउन सक्ने उल्लेख गर्नुभएको छ ।
नेता बास्कोटाले विधिको शासन, कानुनी राज्य र मानव अधिकारको सम्मानलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले बालबालिका, ज्येष्ठ नागरिक र महिलाप्रति नेपाली समाजमा रहेको संस्कार र संवेदनशीलताको समेत पालना गर्नुपर्ने बताउनुभएको छ।
‘घण्ट बजाएर मात्र हुँदैन,’ उहाँले भन्नुभएको छ, ‘जोमाथि जुन विषयमा छानबिन गर्नुपर्ने हो, त्यसमा छानबिन गरियोस् तर आग्रहका आधारमा होइन, कानुनी तथ्यहरू स्थापित हुनैपर्छ।’
उहाँको यो धारणा पछिल्लो राजनीतिक घटनाक्रम र एमाले अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायतका व्यक्तिमाथि भइरहेको अनुसन्धान तथा कारबाहीका सन्दर्भमा आएको प्रतिक्रिया रूपमा हेरिएको छ। बास्कोटाले न्यायिक प्रक्रिया निष्पक्ष, प्रमाणमा आधारित र विधिसम्मत हुनुपर्नेमा जोड दिँदै कानुनी राज्यको मर्मअनुसार अगाडि बढ्न सबै पक्षलाई आग्रह गर्नुभएको छ।

प्रतिक्रिया