भारतको हिमाचल प्रदेशअन्तर्गत सोलान जिल्लामा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जना नेपालीको ज्यान गएको छ । ज्यान गुमाउने सबै सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिकाका स्थायी बासिन्दा रहेको पुष्टि भएको छ ।
सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवार करिब दुई वर्षदेखि भारतमा मजदुरी गर्दै आएका थिए । आइतबार राति करिब २ बजे उनीहरू सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट भएपछि भीषण आगलागी भएको थियो । आगो अत्यन्तै भीषण भएकाले ज्यान जोगाउन उनीहरूलाई कठिन भएको अधिकारीहरूले जनाएका छन् ।
विस्फोटमा परी ३३ वर्षीय धनबहादुर विक, उहाँकी श्रीमती ३२ वर्षीया कविता विक, छोरीहरू १६ वर्षीया राधा र १० वर्षीया रेणुका तथा २२ महिनाका छोरा राजन विकको मृत्यु भएको छ । यस्तै, सोही गाउँका ४६ वर्षीय काशीराम विक, उहाँकी श्रीमती ३२ वर्षीया टीका विक, छोरी ११ वर्षीया अनु र ७ वर्षीय छोरा किरणको पनि ज्यान गएको छ ।
अनुसार विस्फोटपछि आगलागी फैलिँदा शवहरू क्षतविक्षत अवस्थामा फेला परेका छन् । हालसम्म ५ जनाको शव फेला परेको र बाँकीको खोजी कार्य जारी रहेको छ । घटनास्थलमा भारतीय स्थानीय प्रशासन तथा सुरक्षाकर्मीहरूले उद्धार र अनुसन्धान कार्य गरिरहेका छन् ।
उनीहरूको २७ गते नै आगलागीमा परी मृत्यु भए पनि ठेगाना पहिचान हुन सकेको थिएन। नौ जनाको निधनको शोकमा आज वडा नम्बर २ को वडा कार्यालय, वडाभित्रका सामुदायिक विद्यालय तथा सरकारी कार्यालयहरूमा शोक बिदा दिइएको छ ।

प्रतिक्रिया