नेकपा एमाले झापाका अध्यक्ष माननीय प्रेम गिरीले झापा क्षेत्र नं. ५ बाट पार्टी अध्यक्ष माननीय केपी शर्मा ओली झनै ठूलो मतान्तरका साथ निर्वाचित हुने दाबी गर्नुभएको छ । बालेन साह झापा आउने चर्चा चलिरहेका बेला अध्यक्ष गिरीले यस्तो धारणा सार्वजनिक गर्नुभएको हो ।
अध्यक्ष गिरीले पार्टी अध्यक्ष ओलीको नाम झापा–५ बाट एकल सिफारिस भइसकेको जानकारी दिँदै बालेन उम्मेदवार बन्नुभयो भने पनि एमालेको मतान्तर अझ बढ्ने बताउनुभयो । सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले झापा–५ मा बालेनको उपस्थितिले एमालेलाई कुनै असर नपर्ने स्पष्ट पार्नुभयो । ‘पपुलिज्मकै भरमा भूगोल परिवर्तन गरेर निर्वाचन जित्न सजिलो हुँदैन, हामीले जनताको काम गरेका छौँ,’ अध्यक्ष गिरीले भन्नुभयो, ‘बालेन झापाबाट उम्मेदवार बन्नुहुन्छ भन्नेमा विश्वास छैन, आइहाल्नुभयो भने पनि फरक पर्दैन ।’
अध्यक्ष गिरीले कुलमान घिसिङ र बालेनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग अदृश्य शक्तिले जबर्जस्ती मिलाएको दाबी पनि गर्नुभयो । ‘कुलमानजी बाहिरिनु भइसकेको छ, बालेनजीलाई पनि रास्वपाले मनदेखि स्वीकार गर्न सक्दैन,’ उहाँले भन्नुभयो, ‘रास्वपाले बालेनजीको राजनीति झापाबाटै सिध्याउने रणनीति बनाएको देखिन्छ ।’
बालेनलाई अदृश्य शक्तिले प्रधानमन्त्री घोषणा गरेको चर्चा रास्वपालाई मन नपरेको प्रतिक्रिया दिँदै अध्यक्ष गिरीले रास्वपा निर्माणका क्रममा माननीय रवि लामिछानेसहितका नेता तथा कार्यकर्ताले ठूलो मेहनत गरेको उल्लेख गर्नुभयो । ‘प्रधानमन्त्री अर्को व्यक्तिलाई बनाउने कुरा सहजै स्वीकार गर्ने अवस्था छैन,’ उहाँले थप्नुभयो । परिस्थितिजन्य बाध्यताका कारण रास्वपाले बालेन शाहलाई अघि सारेको उहाँको बुझाइ छ ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई अप्ठ्यारो पार्न ‘बालेन फन्डा’ गरिएको हुन सक्ने आशंका व्यक्त गर्दै अध्यक्ष गिरीले एमाले आफ्नो संगठनात्मक शक्तिको आधारमा निर्वाचनमा जाने स्पष्ट पार्नुभयो । झापा क्षेत्र नं. ५ बाट अध्यक्ष ओली अत्यधिक मतसहित विजयी हुनुहुनेमा उहाँले पूर्ण विश्वास व्यक्त गर्नुभयो ।
विकास निर्माणका कामप्रति क्षेत्रका जनता सन्तुष्ट रहेको उल्लेख गर्दै अध्यक्ष गिरीले बालेन ‘टुरिस्ट उम्मेदवार’ भएमा अध्यक्ष ओलीलाई निर्वाचन जित्न झनै सजिलो हुने बताउनुभयो । सडक, पुलसहितका पूर्वाधार विकासमा भएको उल्लेखनीय कामका कारण जनताको भरोसा एमालेप्रति कायम रहेको उहाँको भनाइ छ ।
अघिल्लो निर्वाचनमा अध्यक्ष ओली २८ हजार ५७६ मतान्तरका साथ निर्वाचित हुनुभएको थियो । एक लाख २ हजार १५० मत खसेकोमा ९८ हजार ६३१ मत सदर भएको थियो । अध्यक्ष ओलीले ५२ हजार ३१९ मत प्राप्त गर्नुभएको थियो भने गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ मत प्राप्त गर्नुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेशकुमार पोखरेलले ११ हजार ७४८ मत प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया