![]() |
| संकेतिक तस्बिर |
महोत्सव तथा नेपाल शिक्षा मेला २०८३ मा विद्यार्थीको क्षमता विकास, करियर काउन्सिलिङ वा शैक्षिक जानकारीभन्दा बढी निजी तथा विदेशी सम्बन्धन प्राप्त कलेज, कन्सल्टेन्सी र एजेन्टमार्फत अभिभावकलाई प्रभावित पार्ने गतिविधि हुने गरेको छ । आकर्षक स्टल, चर्का प्रचार, विदेश अध्ययनका सपनादेखि छात्रवृत्तिको लोभ देखाएर विद्यार्थीलाई असमञ्जसमा पार्ने काम हुनेगरेको देखिएको छ ।
विशेषगरी “विदेश पढाइ”, “भविष्य सुनिश्चित”, “कम खर्चमा अन्तर्राष्ट्रिय डिग्री” जस्ता भाषिक प्रयोग गरेर विद्यार्थी र अभिभावकको मनोविज्ञानमाथि खेल्ने प्रयास भइरहेको पहिला पनि महोत्सवको सिकार भएका एकजना विद्याथीले बताएका छन ।
शिक्षा सुधारको नारा, व्यवहारमा व्यापार ?
वर्तमान सरकारले शिक्षा सुधारलाई प्राथमिकतामा राखेको बताउँदै आएको छ । सार्वजनिक विद्यालय सुदृढीकरण, प्राविधिक शिक्षाको विस्तार, स्वदेशमै गुणस्तरीय उच्च शिक्षा विकास लगायतका विषय सरकारी प्राथमिकतामा रहेको दाबी गरिए पनि व्यवहारमा भने निजी तथा विदेशी प्रभावमा आधारित शैक्षिक बजार झन् फैलँदै गएको देखिन्छ ।
वीरगञ्जमा आयोजना हुन लागेका यस्ता “विद्यार्थी महोत्सव” लाई धेरैले शिक्षाको नाममा बजार विस्तार गर्ने माध्यमको रूपमा लिन थालेका छन् । यस्ता कार्यक्रमले विद्यार्थीको भविष्यलाई भावनात्मक रूपमा प्रस्तुत गरेर अभिभावकलाई आर्थिक निर्णयतर्फ धकेल्ने शैली बढ्दै गरेको शिक्षा विज्ञहरूको भनाइमा ।
नेपालमा पछिल्लो समय विदेशी विश्वविद्यालयका नाम, अन्तर्राष्ट्रिय कोर्स, विदेशी डिग्री र माइग्रेसन केन्द्रित प्रचार अत्यधिक बढेको छ । त्यसले स्वदेशी शैक्षिक संरचनामाथि नै प्रश्न उठाइरहेको देखिन्छ छ ।
अभिभावकमाथि मनोवैज्ञानिक प्रभाव
यस्ता कार्यक्रमहरूमा “तपाईंको बच्चाको भविष्य”, “ग्लोबल अवसर”, “अन्तर्राष्ट्रिय शिक्षा” जस्ता शब्द प्रयोग गरी अभिभावकमाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्ने गरिएको आरोप छ ।
+२ अध्ययनरत किशोर विद्यार्थीहरू करियर चयनको संवेदनशील चरणमा हुन्छन् । यस्तो समयमा अत्यधिक व्यापारिक प्रचारले उनीहरूलाई भ्रमित बनाउन सक्छ । अभिभावकहरू पनि सामाजिक प्रतिस्पर्धा र भविष्यको चिन्ताका कारण प्रभावमा पर्ने सम्भावना बढी रहने बताइन्छ ।
नियमन निकाय किन मौन ?
सबैभन्दा गम्भीर प्रश्न भनेको यस्ता कार्यक्रमको अनुगमन कसले गर्ने भन्ने हो । शिक्षा सम्बन्धी कार्यक्रम आयोजना गर्दा सम्बन्धित निकायको अनुमति, पारदर्शिता, सहभागी संस्थाको वैधानिकता र प्रचार सामग्रीको सत्यताबारे स्पष्ट मापदण्ड आवश्यक भए पनि त्यसको प्रभावकारी निगरानी देखिँदैन ।
स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाइ, जिल्ला प्रशासन र उपभोक्ता हितसँग सम्बन्धित निकायहरू मौन देखिँदा शिक्षा क्षेत्रमा व्यापारिक प्रभाव झन् बढेको आलोचना भइरहेको छ ।
“महोत्सव” कि “मार्केटिङ प्लेटफर्म” ?
विश्लेषकहरूका अनुसार यदि कार्यक्रम साँच्चिकै विद्यार्थी केन्द्रित हो भने त्यसमा करियर काउन्सिलिङ, सीप विकास, रोजगारीका अवसर, स्वदेशमै उपलब्ध सम्भावना, अनुसन्धान, नवप्रवर्तन र मनोसामाजिक मार्गदर्शन प्राथमिकतामा हुनुपर्छ । तर अधिकांश कार्यक्रम स्टल, प्रचार सामग्री र भर्ना केन्द्रित देखिनुले यसको उद्देश्यप्रति प्रश्न उठेको छ ।
शिक्षा क्षेत्रलाई सेवाभन्दा व्यापारको रूपमा प्रयोग गर्ने प्रवृत्ति नियन्त्रण गर्न सरकार र नियमन निकाय गम्भीर बन्नुपर्ने हुन्छ । अन्यथा “विद्यार्थी महोत्सव” जस्ता आकर्षक नामभित्र अभिभावक र विद्यार्थीलाई प्रभावमा पार्ने व्यापारिक रणनीति अझै तीव्र बन्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।
यस बिषयमा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दहालसंग बुझ्न खोज्दा यस कार्यक्रम बारे आफुलाई जानकारी नरहेको र साथै कार्यक्रम आयोजकसंग कुरा नभएको र जिल्ला प्रशासन कार्यालयबाट कार्यक्रम गर्न अनुमति समेत लगभग नलिएको उनले प्रतिकृया दिएका छन ।

प्रतिक्रिया