मधेस प्रदेशसभा सदस्य रहबर अन्सारीले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) परित्यागको घोषणा गरेका छन। उनले पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामापत्र बुझाउँदै आफ्नो पार्टी सदस्यता त्यागेको जानकारी दिएका हुन।
अन्सारीले बिहीबार हुलाकमार्फत पठाएको राजीनामापत्रमा पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन। राजीनामापत्रमा उनले प्रचण्डले मधेस प्रदेशमा भनेको ‘सागर के तुफान को भी हमने बस में किया है…’ भन्ने सायरी उद्धृत गर्दै उक्त अभिव्यक्ति अब केवल स्मृतिमा मात्र सीमित भएको टिप्पणी गरेका छन।
उनले पार्टीले साहस, इमानदारी र जोखिम उठाउने क्षमता—यी तीनै मूल्य परित्याग गरिसकेको आरोप लगाएका छन्। यस्तो अवस्थामा आफू विरोधाभासको हिस्सा बन्न नसक्ने स्पष्ट गर्दै पार्टीबाट अलग हुने निर्णय गरेको उनले बताएका छन।
राजीनामापत्रमा अन्सारीले ‘म यो विरोधाभासको हिस्सा बन्न सक्दिनँ। यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै विदा लिन्छु,’ भन्ने उल्लेख गरेका छन।
उनको राजीनामाले मधेस प्रदेशको राजनीतिक वृत्तमा नयाँ चर्चा र तरंग पैदा गरेको छ।

प्रतिक्रिया