बारा- नेकपा (एमाले) बारा–३ को राजनीतिक समीकरण फेरि एकपटक पूर्वमन्त्री तथा निवर्तमान सांसद ज्वाला कुमारी साहको वरिपरि केन्द्रित भएको छ। क्षेत्रीय कमिटीबाट औपचारिक सिफारिस नआए पनि जिल्ला सचिवालयको विशेष निर्णयमार्फत उनको नाम प्रतिनिधिसभा उम्मेदवार सिफारिसमा समावेश हुनु पार्टीभित्र उनको राजनीतिक वजन र अपरिहार्यतालाई स्पष्ट संकेत मानिएको छ।
एमाले बारा जिल्ला सचिवालयको सातौँ बैठकले जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट ४१ जना नेताहरूको नाम प्रदेश कमिटीमा पठाउँदा, क्षेत्र नम्बर ३ बाट ज्वाला साहलाई विशेष प्राथमिकतासहित समावेश गर्नुले पार्टी नेतृत्व उनको अनुभव, जनआधार र राष्ट्रिय राजनीतिक पहुँचलाई बेवास्ता गर्न नसकेको प्रमाणित गरेको छ।
क्षेत्रीय सिफारिसको सीमित घेराभित्र नअटाएकै कारण ज्वाला साहलाई कमजोर ठान्नेहरूको विश्लेषण जिल्ला निर्णयसँगै धराशायी भएको छ। दुई पटक मन्त्री बनेकी, संसदमा प्रभावशाली उपस्थिति जनाएकी र बारा जिल्लाको पहिचान राष्ट्रिय राजनीतिमा स्थापित गराएकी नेतृलाई पार्टीले अन्ततः रणनीतिक उम्मेदवारका रूपमा स्वीकार गरेको देखिएको छ।
बारा–३ जस्तो संवेदनशील र प्रतिस्पर्धी क्षेत्रमा अनुभवहीन प्रयोगले पार्टीलाई घाटा पुग्ने जोखिम रहेकाले एमाले नेतृत्वले ज्वाला साहलाई अगाडि सारेको राजनीतिक बिज्ञहरू बताउँछन।
ज्वाला साहको नाम समावेश भएपछि पार्टीभित्रैका केही महत्वाकांक्षी समूह असहज बनेका छन्। तर जिल्ला–स्तरदेखि केन्द्रसम्म उनको प्रभाव स्वीकार गर्नैपर्ने अवस्था सिर्जना भएको छ। स्थानीय कार्यकर्ता र पुराना समर्थकहरू भने यो निर्णयलाई “ढिलो आए पनि सही निर्णय” भन्दै खुलेर स्वागत गरिरहेका छन।
एमाले स्रोतका अनुसार, बारा–३ मा विपक्षी दलहरूको गठबन्धन र जातीय–क्षेत्रीय समीकरणलाई मध्यनजर गर्दा ज्वाला साह जस्तो स्थापित अनुहारबिना चुनाव जित्न कठिन हुने निष्कर्ष नेतृत्वले निकालेको हो। यही कारण क्षेत्रीय सिफारिसभन्दा माथि उठेर जिल्ला सचिवालयले हस्तक्षेपकारी तर रणनीतिक निर्णय गरेको बुझिन्छ।
सिधा कुरा गर्दा सचिवालयको निर्णयले ज्वाला अझै खेलबाट बाहिर छैन्न, भने स्पष्ट सन्देश दिएको छ।
ज्वाला कुमारी साह एमालेको अतीत मात्र होइन, वर्तमान र सम्भावित भविष्य पनि हुन। उनलाई नजरअन्दाज गरेर बारा–३ को राजनीति बुझ्न खोज्नु आफैंमा राजनीतिक भ्रम मात्र हुने देखिएको छ।

प्रतिक्रिया