पर्साको पकहाॅंमैनपुर गाउँपालिकामा अवस्थित श्री राम चरित्र भगत माध्यमिक विद्यालयको नवगठित विद्यालय व्यवस्थापन समितिको पहिलो बैठक आज सम्पन्न भएको छ। बैठकले विद्यालयमा मौलाउँदै गएको अनुशासनहीनता, ढिलासुस्ती र शैक्षिक लापरबाहीलाई अब कुनै हालतमा सह्य नहुने स्पष्ट सन्देश दिएको छ।
बैठकले विद्यालयलाई प्रयोगशाला, राजनीति वा बेवास्ताको थलो बनाउने प्रवृत्तिविरुद्ध कडा निर्णय गर्दै समयमै कक्षा सञ्चालन, अनिवार्य उपस्थिति र कडाइका साथ अनुशासन लागू गर्ने घोषणा गरेको छ। अब विद्यालयमा ढिलो आउने, बिना कारण अनुपस्थित हुने तथा कक्षा छाड्ने विद्यार्थीमाथि सीधै कारबाही प्रक्रिया अगाडि बढाइने निर्णय गरिएको छ।
नवगठित समितिले गृहकार्य नगर्ने, पढाइलाई खेलवाड बनाउने र शैक्षिक अनुशासन तोड्ने विद्यार्थीमाथि शून्य सहनशीलता नीति लागू गर्ने स्पष्ट पारेको छ। साथै, विद्यार्थीको शैक्षिक नतिजामा लापरबाही देखिए सम्बन्धित शिक्षकसमेत जवाफदेही बनाइने निर्णय बैठकले गरेको छ।
बैठकमा परीक्षा प्रणाली, कापी जाँच र मूल्याङ्कन प्रक्रियामा देखिएको कमजोरीप्रति कडा असन्तोष व्यक्त गरिएको छ। अबदेखि परीक्षा निष्पक्ष, समयमै र परिणाममुखी हुने, कापी जाँचमा ढिलाइ वा पक्षपात देखिए कारबाही अपरिहार्य हुने चेतावनी दिइएको छ।
विद्यालय परिसरमा हल्ला, अव्यवस्था र अनुशासनहीन गतिविधि अन्त्य गर्न विद्यालय पोशाक अनिवार्य, सफा र सुरक्षित वातावरण कायम राख्ने निर्णय गरिएको छ। विद्यालयको मर्यादा भङ्ग गर्ने जो–कोहीलाई तत्काल नियन्त्रणमा लिने र आवश्यक परे कानुनी प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ।
बैठकले अभिभावकको भूमिकालाई निर्णायक ठहर गर्दै छोराछोरीको पढाइप्रति उदासीन अभिभावकलाई समेत जिम्मेवारीबाट उन्मुक्ति नदिइने जनाएको छ। विद्यालय सुधार सामूहिक दायित्व भएकाले अब बेवास्ता गर्ने कुनै पनि पक्ष उम्किन नपाउने चेतावनी दिइएको छ।
नवगठित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश सहनीले भने अब श्री राम चरित्र भगत माध्यमिक विद्यालय सम्झौताको होइन, परिणामको विद्यालय हुनेछ। उनले अनुशासन तोड्नेलाई माफी छैन, पढाइसँग सम्झौता हुँदैन भने प्रष्ट पारेका हुन। बिधार्थीहरूको उज्वल भबिष्यको लागी आवश्यक सामग्री व्यवस्थापन गर्न र विद्यालयको सौन्दर्यकरणका लागि आफू सधैं अग्रसर रहने प्रतिबद्धता समेत जनाएका छन।
विद्यालयको उन्नति प्रगतिको लागि विद्यालय व्यवस्थापन समिति र विद्यालयका शिक्षकहरू बिच आपसी तालमेल र समन्वय सहकार्य आवश्यक रहेको भन्दै आकस्मिक बैठकको आयोजना गरिएको प्रधानाध्यापक पप्पु प्रसाद चौहानले जानकारी दिएका हुन।
बैठकमा नवगठित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरू लगायत विद्यालयका सम्पुर्ण शिक्षकहरूको उपस्थिती रहेको प्रधानाध्यापक चौहानले बताए।

प्रतिक्रिया