Menu

आजको मौसम

पकहाँमैनपुरमा रास्वपाबाट अध्यक्ष पदका आकांक्षीको दौडधुप, पुराना र नयाँ अनुहार मैदानमा,कसले मार्ला बाजी

Author
ईक्रान्तिखबर डेस्क |
October 28, 2026
Featured

आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोट प्रक्रिया अघि बढाएसँगै पर्साको पकहाँमैनपुर गाउँपालिकामा अध्यक्ष पदका आकांक्षीहरू बढ्न थालेका छन । पालिकाको नेतृत्व लिन पार्टीभित्र पुराना र नयाँ अनुहारबीच प्रतिस्पर्धा देखिन थालेपछि उम्मेदवार छनोटको विषय चासोको केन्द्रमा पुगेको छ ।

पकहाँमैनपुर गाउँपालिकामा रास्वपाको पालिका अधिवेशनसमेत सम्पन्न हुन नसकेको अवस्थामा अध्यक्षको उम्मेदवार बन्न आकांक्षीहरू भने सक्रिय देखिएका छन । पार्टीको आन्तरिक संगठन निर्माण र अधिवेशनभन्दा उम्मेदवार बन्ने दौडधुपले प्राथमिकता पाएको भन्दै यसले पार्टीभित्रको संगठनात्मक अवस्था र आन्तरिक अनुशासनमाथि प्रश्न उठाएको छ ।

पालिका अध्यक्षको उम्मेदवार बन्ने आकांक्षासहित रास्वपाको छनोट प्रक्रियाअन्तर्गत आवेदन दिएको बताइएका व्यक्तिहरूमा पार्टी सभापति रवि लामिछानेका कानुन व्यवसायी चन्द्रिका प्रसाद पटेल रहेका छन । 

यसैगरी पर्सा क्षेत्र नम्बर ३ का उपसभापति सुजित दास, युवा नेता तथा सामाजिक अभियन्ताका रूपमा परिचित अकलेशकुमार साह, स्थानीय नेता जनार्दन यादव र बृजेश सहनी, कृष्णा पटेल, जुगुल पाण्डे, रजनिश कुशवाहा समेत रहेको स्थानीय नेताहरु बताएका छन । 

पार्टीको आवेदन प्रक्रिया पूरा हुँदासम्म पकहाँमैनपुरमा अध्यक्ष पदका आकांक्षीको सङ्ख्या अझै बढ्न सक्ने स्थानीय एक नेताले बताएका छन । सामाजिक सञ्जालमार्फत विभिन्न नारासहित प्रचारप्रसार गर्ने क्रमसमेत सुरु भएको छ । उम्मेदवार छनोटको औपचारिक प्रक्रिया टुङ्गोमा नपुग्दै व्यक्तिगत प्रचार तीव्र हुनुले पार्टीभित्र प्रतिस्पर्धा चर्किने सङ्केत गरेको छ ।

पकहाँमैनपुर गाउँपालिकामा पार्टी संंगठनको कुरा गर्दा पार्टी सभापती लामीछानेका कानुन व्यवसायी चन्द्रिका प्रसाद पटेल नै बलियो दावेदारको रुपमा छन, भने उनलाई टक्कर दिन सक्ने सामाजिक अभियान्ता अकलेश कुमार साह रहेको पालिका स्तरमा चर्चा चुलिन थालेको छ ।  

सो आकांक्षीमध्ये केही लामो समयदेखि पार्टीमा सक्रिय छन, भने केही नयाँ अनुहारका रूपमा देखिएका छन । स्थानीय सरकारको नेतृत्वमा पुग्ने लक्ष्यसहित उनीहरूले उम्मेदवार बन्ने प्रयास थाले पनि आवेदन दिएका वा दिने तयारीमा रहेका सबैमध्ये कसले पार्टीको टिकट पाउँछन, भन्ने विषय अझै अनिश्चित छ ।

राष्ट्रिय सफलताको प्रभाव स्थानीय निर्वाचनमा कति?

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले उल्लेखनीय सफलता हासिल गरेपछि पार्टीप्रति राजनीतिक आकर्षण बढेको विश्लेषण गरिँदै आएको छ। यही राजनीतिक माहोललाई आधार बनाएर पकहाँमैनपुरमा पनि रास्वपाबाट उम्मेदवार बन्न चाहनेहरूको सङ्ख्या बढेको हुन सक्ने देखिन्छ।

तर, प्रतिनिधिसभा निर्वाचनमा प्राप्त सफलतालाई स्थानीय तहको निर्वाचनको सम्भावित परिणामसँग सोझै जोडेर हेर्न सकिँदैन। स्थानीय निर्वाचनमा पार्टीको प्रभावसँगै उम्मेदवारको व्यक्तिगत छवि, विगतको राजनीतिक पृष्ठभूमि, स्थानीय मुद्दाप्रतिको बुझाइ, सामाजिक सम्बन्ध र मतदातामाझको स्वीकार्यताले महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ।

पकहाँमैनपुर गाउँपालिकामा विगतदेखि नेतृत्व गर्दै आएका जनप्रतिनिधिले नागरिकको अपेक्षाअनुसार काम गर्न नसकेको र जनताले प्रत्यक्ष अनुभूति गर्ने विकास तथा सेवा प्रवाहका काम पर्याप्त रूपमा देखाउन नसकेको भन्ने असन्तुष्टि स्थानीय राजनीतिमा प्रभाव पार्ने विषय हुन सक्छ। 

आगामी नेतृत्वका लागि विकास र सुशासनको चुनौती

पकहाँमैनपुर गाउँपालिकामा आगामी नेतृत्वका लागि भौतिक पूर्वाधार विकास, सडक तथा ढल व्यवस्थापन, शिक्षा, स्वास्थ्य, बजार व्यवस्थापन र फोहोर व्यवस्थापन प्रमुख चुनौतीका विषय रहनेछन्। नागरिकले आधारभूत सेवा सहज रूपमा पाउने व्यवस्था गर्नु, विकास निर्माणमा पारदर्शिता कायम गर्नु र स्थानीय आवश्यकताअनुसार योजना कार्यान्वयन गर्नु नयाँ नेतृत्वका लागि महत्त्वपूर्ण हुनेछ।

यस्तो अवस्थामा रास्वपाले पकहाँमैनपुरमा कसलाई उम्मेदवार बनाउँछ भन्ने विषय केवल पार्टीभित्रको प्रतिस्पर्धामा सीमित रहने छैन। आकांक्षीहरूको राजनीतिक पृष्ठभूमि, संगठनप्रतिको योगदान, स्थानीय नागरिकसँगको सम्बन्ध र गाउँपालिकाका समस्याप्रति उनीहरूको स्पष्ट दृष्टिकोणले पनि उम्मेदवार छनोटमा महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ।

अध्यक्ष पदका लागि आकांक्षीको सङ्ख्या बढ्नु मात्र चुनावी सफलताको आधार बन्न सक्दैन। पार्टीले कस्तो मापदण्डका आधारमा उम्मेदवार छनोट गर्छ र छनोट भएका उम्मेदवारले स्थानीय नागरिकका अपेक्षा पूरा गर्ने कस्तो योजना अघि सार्छन् भन्ने विषयले पकहाँमैनपुरको आगामी चुनावी प्रतिस्पर्धालाई थप अर्थपूर्ण बनाउनेछ।


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3