Menu

आजको मौसम

परवानीपुर कृषि अनुसन्धान निर्देशनालयका प्रमुख यादवमाथि विभेद र अनियमितताको आरोप

Author
ईक्रान्तिखबर डेस्क |
October 28, 2026
Featured

कृषि अनुसन्धान निर्देशनालय, परवानीपुरका कार्यालय प्रमुख विश्वेश्वर यादवमाथि कर्मचारी तथा ज्यामीमाथि विभेद गरेको, आफन्तलाई विशेष सुविधा दिएको र भवन निर्माणमा अनियमितता गरेको आरोप लागेको छ। करिब साढे चार वर्षदेखि कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका यादवले कार्यालयलाई आफूअनुकूल सञ्चालन गर्दै आएको त्यहाँ कार्यरत कर्मचारी तथा ज्यामीले आरोप लगाएका छन्।

कार्यालयमा कार्यरत ज्यामीहरूका अनुसार त्यहाँ २६ जना ज्यामी रहे पनि सबैले नियमित रूपमा काम पाउने गरेका छैनन्। बिदाको दिन काम नपाउँदा दैनिक ज्यालामा निर्भर ज्यामीहरू आर्थिक समस्यामा पर्ने गरेको उनीहरूको गुनासो छ।

ज्यामीहरूले दैनिक ज्याला ७६० रुपैयाँ निर्धारण गरिएको भए पनि आफूहरूले ६४० रुपैयाँ मात्रै पाउने गरेको बताएका छन्। उनीहरूका अनुसार कार्यालय प्रमुखका आफन्तलाई भने काममा कडाइ नगरिने र विभिन्न सेवा–सुविधा उपलब्ध गराइने गरिएको छ।

‘हामीलाई १० मिनेट ढिलो हुँदा पनि त्यस दिनको हाजिरी काटिन्छ। तर उहाँका आफन्तलाई कुनै नियम लाग्दैन। जुनसुकै बेला आएर दुई घण्टा काम गरे पनि सबै सेवा–सुविधा पाउँछन्,’ एक महिला ज्यामीले भनिन्।

कार्यालय प्रमुख यादवका भान्जा पर्ने विपिन यादवले काम नगरे पनि तलब तथा अन्य सुविधा पाइरहेको त्यहाँ कार्यरत केही ज्यामीको आरोप छ। त्यस्तै, प्रमुखविरुद्ध आवाज उठाउने कर्मचारीलाई सरुवा गर्ने वा कामबाट हटाउने गरिएको आरोपसमेत उनीहरूले लगाएका छन्। 

आफन्तलाई निःशुल्क बीउ दिएको आरोप

कार्यालय प्रमुख यादवमाथि आफ्ना आफन्तलाई बीउ निःशुल्क उपलब्ध गराउने गरेको आरोपसमेत लागेको छ। कृषि अनुसन्धान तथा बीउ वितरणसम्बन्धी जिम्मेवारी बोकेको कार्यालयबाट बीउ वितरणमा पक्षपात भएको हो वा होइन भन्ने विषयमा निष्पक्ष छानबिन आवश्यक देखिन्छ।

४२ लाखको स्क्रिन हाउस र ६० लाखको भवन उपयोगविहीन

कार्यालय प्रमुख यादवमाथि भवन निर्माण तथा पूर्वाधार व्यवस्थापनमा अनियमितता गरेको आरोप पनि लागेको छ। कर्मचारीहरूका अनुसार करिब ४२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको स्क्रिन हाउस र ६० लाख रुपैयाँ खर्चेर बनाइएको धान प्रोसेसिङ भवन प्रभावकारी रूपमा प्रयोगमा आउन सकेका छैनन्।

कृषि अनुसन्धान तथा उत्पादनसँग सम्बन्धित संरचनामा ठूलो रकम खर्च भए पनि ती संरचना उपयोगविहीन रहेको भन्ने आरोपले सरकारी लगानीको उपयोगितामाथि प्रश्न उठाएको छ। यद्यपि, निर्माणको गुणस्तर, लागतको विवरण र संरचनाको वास्तविक उपयोग अवस्थाबारे आधिकारिक कागजात तथा प्राविधिक परीक्षणबाट पुष्टि हुन बाँकी छ।

भैंसीलाई परालको भर, घाँस व्यवस्थापनमा प्रश्न

निर्देशनालय परिसरमा पालिएका भैंसीको आहार व्यवस्थापनमा समेत लापरबाही भएको कर्मचारीहरूको गुनासो छ। उनीहरूका अनुसार भैंसीका लागि पर्याप्त घाँसको व्यवस्था नहुँदा परालकै भरमा पाल्नुपर्ने अवस्था छ।‘यसपालि कार्यालय परिसरमा घाँस रोपिएको छैन। बाहिरबाट घाँस ल्याउन पनि प्रतिबन्ध छ। त्यसैले भैंसीहरू परालको भरमा छन्,’ एक कर्मचारीले भने।

कृषि अनुसन्धान तथा पशुपालनसम्बन्धी गतिविधिसमेत हुने कार्यालयमा पशु आहार व्यवस्थापनको अवस्थाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको कर्मचारीहरूको भनाइ छ।

तालिम भवन जीर्ण, परिसर झाडीले ढाकियो

निर्देशनालय परिसरमा रहेको तालिम भवनको अवस्था पनि दयनीय रहेको बताइएको छ। भवन वरिपरि झाडी फैलिएको, सरसफाइ तथा मर्मतसम्भारमा ध्यान नदिइएको र भवनसम्म पुग्ने बाटोसमेत जीर्ण रहेको कर्मचारीहरूको गुनासो छ।तालिम तथा कृषि अनुसन्धानका लागि प्रयोग हुनुपर्ने संरचनाको उचित संरक्षण र व्यवस्थापन नहुँदा सरकारी सम्पत्तिको उपयोगितामाथि प्रश्न उठेको छ।

यता, कार्यालय प्रमुख विश्वेश्वर यादवले आफूविरुद्ध लगाइएका आरोप निराधार रहेको बताएका छन्। आफू कार्यालयमा आएपछि विभिन्न सुधारका काम गरेको दाबी गर्दै उनले आरोपहरूको खण्डन गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3