वीरगञ्ज: यातायात व्यवस्था कार्यालय वीरगञ्जमा अनलाइन सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई सास्ती भोग्नुपरेको छ । सोमबारदेखि अवरुद्ध भएको सेवा मंगलबारसम्म पनि नियमित हुन नसक्दा कार्यालयको कामकाज प्रभावित भएको हो ।
अनलाइन सेवा बन्द भएपछि विशेषगरी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी काम लिएर कार्यालय पुगेका सेवाग्राही समस्यामा परेका छन । अनलाइन प्रणालीमा निर्भर रहेका सेवा प्रभावित हुँदा सेवाग्राहीले समयमै काम गराउन नसकेको गुनासो गरेका छन ।
समाचार स्रोतका अनुसार सेवा अवरुद्ध भएको दोस्रो दिनसम्म पनि समस्या समाधानका लागि सम्बन्धित निकायबाट अपेक्षित सक्रियता देखिएको छैन । सेवाग्राहीले सास्ती खेपिरहँदा नियमन निकायको भूमिका प्रभावकारी नदेखिएको स्रोतको दाबी छ ।
कार्यालयमा लाइसेन्ससम्बन्धी कामका लागि अनलाइन प्रणाली महत्वपूर्ण मानिन्छ । त्यसमा चिकित्सकबाट गरिने स्वास्थ्य परीक्षणसम्बन्धी प्रक्रिया समेत जोडिएकाले सेवा अवरुद्ध हुँदा समग्र कार्यप्रवाह प्रभावित भएको बताइएको छ । अनलाइन प्रणाली नियमित नहुँदा कार्यालयको सेवा प्रवाह अस्तव्यस्त बनेको स्रोतको भनाइ छ ।
नयाँ कार्यालय प्रमुख आए पनि सेवा प्रवाहमा अपेक्षित सुधार नदेखिएको भन्दै कार्यालयको व्यवस्थापन र समस्या समाधान गर्ने क्षमतामाथि प्रश्न उठ्न थालेको छ । प्रविधिमा आएको समस्याका कारण सेवाग्राहीले दुःख पाइरहँदा त्यसको तत्काल समाधान गरी सेवा नियमित गराउनुपर्नेमा ढिलाइ भएको गुनासो गरिएको छ ।
यस विषयमा यातायात व्यवस्था कार्यालय वीरगञ्जका प्रमुख धनञ्जयकुमार सिंहसँग प्रतिक्रिया लिन खोज्दा उनले कार्यालयको अनलाइन सेवामा देखिएको समस्या समाधान भइरहेको बताएका छन ।
तर, सेवा अवरुद्ध हुनुको वास्तविक कारण के हो, समस्या पूर्ण रूपमा कहिलेसम्म समाधान हुन्छ र सेवाग्राहीले नियमित सेवा कहिलेदेखि पाउँछन् भन्ने विषयमा स्पष्ट जानकारी सार्वजनिक हुन सकेको छैन ।
सेवाग्राहीलाई अनावश्यक सास्तीबाट जोगाउन सम्बन्धित निकायले प्राविधिक समस्या तत्काल समाधान गरी सेवा नियमित गराउन तथा सेवा अवरुद्ध हुनुको कारणबारे स्पष्ट जानकारी दिन आवश्यक देखिएको छ ।
