एकातर्फ लामो समयदेखि नेपाली कांग्रेसमार्फत सक्रिय राजनीतिमा रहेका शिक्षित, बौद्धिक व्यक्तित्व तथा अनुभवी राजनीतिज्ञको रुपमा परिचित लक्ष्मण प्रसाद कुर्मी छन, भने अर्कोतर्फ युवा नेतृत्व र सामाजिक सक्रियताका कारण चर्चामा रहेका अकलेश कुमार साह छन । यी दुई नेताको सम्भावित प्रतिस्पर्धाले पकहाँमैनपुरको चुनावी राजनीतिमा नयाँ समीकरण सिर्जना गर्न सक्ने आकलन गरिएको छ ।
पुराना अनुहारप्रति असन्तुष्टि, परिवर्तनको खोजीमा मतदाता !
पकहाँमैनपुर गाउँपालिकामा विगतदेखि नेतृत्व गर्दै आएका जनप्रतिनिधिले आम नागरिकको अपेक्षाअनुसार काम गर्न नसकेको र जनताले प्रत्यक्ष अनुभूति गर्ने लोकप्रिय काम पर्याप्त देखाउन नसकेको भन्दै आलोचना हुने गरेको छ । स्थानीयस्तरमा विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र प्रभावकारी सेवा प्रवाहजस्ता विषयमा जनताको अपेक्षा पूरा भए–नभएको बहससमेत महत्वपूर्ण बन्ने देखिन्छ ।
वर्तमान गाउँपालिका प्रमुख सुरेश प्रसाद मेहता हुन । उनले पर्साको नमुना गाउँपालिका बनाउन प्रतिबद्धता गरेका थिए तर पालिका प्रमुख मेहताको प्रतिबद्धता नारामै सिमित देखियो । उनीभन्दा अगाडि मधेसी दलबाट विजयकुमार चौरसिया गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । चौरसियाको कार्यकालसँग जोडेर विभिन्न काममा भ्रष्टाचार तथा अनियमितता भएको आरोपसमेत लाग्ने गरेको छ ।
हाल चौरसिया नेकपा एमालेमार्फत सक्रिय राजनीतिमा रहेका छन, र आगामी निर्वाचनमा सोही पार्टीबाट प्रतिस्पर्धा गर्ने चर्चा छ । यस्तो अवस्थामा विगतका नेतृत्वको कार्यसम्पादन, राजनीतिक दलको छवि र जनताप्रतिको जवाफदेहिताको प्रश्न चुनावी बहसको केन्द्रमा आउन सक्ने देखिन्छ ।
कांग्रेसका कुर्मी कि रास्वपाका साह ?
लक्ष्मण प्रसाद कुर्मीका लागि लामो राजनीतिक अनुभव, नेपाली कांग्रेससँगको आबद्धता र स्थानीय राजनीतिक परिचय मुख्य आधार बन्न सक्छन। अर्कोतर्फ अकलेश कुमार साहका लागि युवा नेतृत्व, सामाजिक अभियन्ताको पहिचान र राष्ट्रिय स्वतन्त्र पार्टीको वैकल्पिक राजनीतिक सन्देश अवसरका रूपमा देखिन सक्छन ।
मतदाताले पुरानो राजनीतिक अनुभवलाई प्राथमिकता दिन्छन् वा नयाँ पुस्ताको नेतृत्वलाई अवसर दिन्छन् भन्ने विषयले पकहाँमैनपुरको चुनावी परिणाममा प्रभाव पार्न सक्नेछ । तर, सम्भावित प्रतिस्पर्धाको वास्तविक दिशा उम्मेदवारीको अन्तिम टुंगो, दलगत गठबन्धन, स्थानीय संगठनको अवस्था र मतदाताको समर्थनले निर्धारण गर्नेछ ।
पुराना अनुहारको ‘बत्ती गुल’ होला त ?
पकहाँमैनपुरमा अब केवल राजनीतिक दलको नाम र पुरानो प्रभावका आधारमा चुनाव जित्ने अवस्था नरहन सक्ने चर्चा हुन थालेको छ । जनताले विगतको कामको मूल्यांकन गर्दै विकास, पारदर्शिता, सुशासन र जवाफदेहितालाई प्राथमिकता दिएमा पुराना राजनीतिक अनुहारमाथि दबाब बढ्न सक्छ ।
एकातर्फ नेपाली कांग्रेसका अनुभवी नेता लक्ष्मण प्रसाद कुर्मी, अर्कोतर्फ रास्वपाका युवा नेता अकलेश कुमार साह र नेकपा एमालेबाट प्रतिस्पर्धामा आउन सक्नेभए,वर्तमान पालिका अध्यक्ष लगायत विजयकुमार चौरसिया सहितको राजनीतिक पात्रबीचको समीकरणले निर्वाचनलाई रोचक बनाउन सक्छ ।
पकहाँमैनपुरका मतदाताले कसलाई विश्वास गर्छन् भन्ने कुरा चुनावी नारा, व्यक्तिगत छवि वा दलगत प्रभावले मात्र होइन, विगतको कार्यसम्पादन र भविष्यका स्पष्ट योजनाले निर्धारण गर्नेछ । पकहाँमैनपुरको चुनावी बहस अब नयाँ मोडमा प्रवेश गर्दैछ/पुरानै राजनीतिक शैलीको निरन्तरता कि परिवर्तनको नयाँ अध्याय? आगामी निर्वाचनले यसको जवाफ दिनेछ ।
