पर्सा- पूर्वमन्त्री तथा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का निर्वतमान सांसद प्रदीप यादवले आफू नेकपा एमालेमा प्रवेश गर्ने भन्ने हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्।
केही अनलाइन मिडियामा आफू एमालेमा प्रवेश गर्ने तयारीमा रहेको भनी प्रकाशित समाचारप्रति खण्डन गर्दै यादवले उक्त खबर पूर्णतः भ्रामक रहेको बताए। उनले भने, “केही मिडियामा एमालेमा प्रवेश गर्ने तयारी भनेर समाचार लेखिएको रहेछ। त्यो पूर्ण रूपमा भ्रामक हल्ला हो। एमाले प्रवेश गर्ने कुरा मैले सोचेकै छैन।
सोमबार विभिन्न अनलाइन सञ्चारमाध्यममा पूर्वमन्त्री यादव एमालेमा प्रवेश गर्ने तयारीमा रहेको दाबी सहितका समाचार प्रकाशित भएका थिए।
उक्त समाचारको खण्डन गर्दै यादवले मधेसको मुद्दालाई अझ सशक्त बनाउने तथा मधेस आन्दोलनबाट प्राप्त उपलब्धिहरूको संरक्षणका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालसँग एकता गरेको स्पष्ट पारे। उनले भने, “हामी कुनै पदको बार्गेनिङ गरेर होइन, मधेसको हक–अधिकार र उपलब्धिको रक्षाका लागि जसपासँग एकता गरेका हौँ।
पूर्वमन्त्री यादवले एमाले प्रवेश गर्ने हल्लाको पछि नलाग्न आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गर्दै यस्ता भ्रामक समाचारप्रति सचेत रहनसमेत अनुरोध गरेका छन्।

प्रतिक्रिया