जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा श्री माईस्थान विद्यापीठ माध्यमिक विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा कक्षा १० मा अध्ययनरत ८० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सचेतना सत्रमा विद्यार्थीहरूलाई ट्राफिक नियमको महत्व, दैनिक जीवनमा सुरक्षित यातायातको आवश्यकता, सडक दुर्घटनाबाट जोगिन अपनाउनुपर्ने उपाय तथा पैदल यात्री, साइकल र सवारी चालकले ध्यान दिनुपर्ने सावधानीबारे जानकारी दिइएको थियो।
प्रमुख अतिथि प्रहरी निरीक्षक कटवालले ट्राफिक नियमको पालना गरे मात्र सडक दुर्घटना न्यूनीकरण सम्भव हुने बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई सानै उमेरदेखि ट्राफिक नियमप्रति सचेत र जिम्मेवार नागरिक बन्न प्रेरित गर्नुभयो। ट्राफिक नियम कानुनको विषय मात्र नभई सामाजिक उत्तरदायित्वसमेत भएको उहाँको भनाइ थियो।
कार्यक्रमको अध्यक्षता एलाइड यूथ सोसाइटीका अध्यक्ष सोनु गुप्ताले गर्नुभएको थियो। उहाँले युवाहरूलाई ट्राफिक सचेत बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउँदै भविष्यमा पनि निरन्तर रूपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।
कार्यक्रममा एलाइड यूथ सोसाइटीका संस्थापक अध्यक्ष ओम झाको पनि विशेष उपस्थिति रहेको थियो। उहाँले सुरक्षित समाज निर्माणका लागि प्रहरी र समुदायबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
संस्थाका सदस्यहरूको सक्रिय सहभागिताले कार्यक्रम व्यवस्थित, अनुशासित र सफल रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया