काठमाडौं- नेकपा एमालेकी सचिव पद्मा अर्यालले इतिहास र राजनीतिक संघर्षलाई अस्वीकार गरेर ‘नयाँ’ बन्न खोज्ने प्रवृत्ति दीर्घकालीन नहुने बताउनु भएको छ। उहाँले राज्य सञ्चालन व्यक्तिको अनुहार वा लोकप्रियताबाट नभई संघर्ष, संगठन र विचारबाट हुने स्पष्ट धारणा राख्नु भएको छ।
सामाजिक सञ्जालमार्फत आफ्नो विचार सार्वजनिक गर्दै सचिव अर्यालले पछिल्लो समय देखिएको ‘वैकल्पिक राजनीति’ र कथित एकताको बहसप्रति संकेत गर्दै ‘इतिहास मेटेर नयाँ बन्न खोज्ने राजनीति दीर्घकालीन हुँदैन,’ भन्ने धारणा राख्नु भएको छ । उहाँले नयाँ पुस्तालाई केही नेताका अनुहार मन पर्न सक्ने भए पनि राज्य सञ्चालन गम्भीर विषय भएको उल्लेख गर्दै व्यक्तिकेन्द्रित राजनीतिले दीर्घकालीन समाधान नदिने जिकिर गर्नु भएको छ। ‘नयाँ पुस्तालाई अनुहार मन पर्न सक्छ, तर राज्य चल्ने कुरा अनुहारले होइन-संघर्ष, संगठन र विचारले हो,’ अर्यालको भनाइ छ।
सचिव अर्यालले ‘एकता’को नाममा परिवर्तनकारी राजनीतिक दलहरूलाई विस्थापित गर्ने सोच लोकतन्त्रका लागि खतरनाक हुने चेतावनी पनि दिनुभएको छ। ‘कथित एकताका नाममा परिवर्तनकारी दलहरूलाई विस्थापित गर्ने सोचले लोकतन्त्रलाई सशक्त होइन, कमजोर बनाउँछ,’ उहाँले उल्लेख गर्नुभएको छ।
उहाँको यो अभिव्यक्ति पछिल्लो समय स्थापित राजनीतिक दलहरूलाई ‘पुराना’ भन्दै नयाँ शक्ति र गठबन्धनको बहस तीव्र भइरहेको सन्दर्भमा आएको हो। एमाले नेताहरूले संगठनात्मक आधार, वैचारिक स्पष्टता र ऐतिहासिक योगदानलाई बेवास्ता गरेर गरिने राजनीतिक प्रयोगले लोकतन्त्रलाई बलियो बनाउन नसक्ने धारणा राख्दै आएका छन्।
सचिव अर्यालको भनाइलाई एमालेको वैचारिक लाइन र संगठनमुखी राजनीतिलाई पुनः जोड दिने प्रयासका रूपमा हेरिएको छ। पार्टीभित्र नेतृत्व, संगठन र राजनीतिक कार्यदिशाबारे बहस चलिरहेको अवस्थामा आएको यो धारणा राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा लिइएको छ।

प्रतिक्रिया