वीरगञ्ज महानगरपालिका वडा नम्बर–२५ स्थित मौजे सिरिशिया टोलमा अतिविपरीत घटनाले प्रभावित क्षेत्रमा आज पवित्र हनुमान जयन्तीको अवसरमा विशेष पूजा–पाठ तथा ध्वजा स्थापना कार्यक्रम सम्पन्न गरिएको छ।
स्थानीय युवा समूहको पहलमा आयोजित उक्त कार्यक्रममा धार्मिक विधिअनुसार पूजा–आराधना गरी क्षेत्रलाई शुद्ध र सकारात्मक ऊर्जा प्रवाह गर्ने उद्देश्य राखिएको जनाइएको छ।
स्थानीय युवाहरूका अनुसार उक्त स्थानमा विगतमा पटक–पटक सवारी दुर्घटना भएका थिए, जसका कारण मानवीय क्षति समेत भएको थियो। यस्ता अप्रिय घटनालाई रोक्ने र समुदायमा मानसिक तथा धार्मिक सन्तुलन कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनीहरूको भनाइ छ।
कार्यक्रमका संयोजक विकी पटेलले भने, “दुर्घटनाले त्रसित बनेको यस क्षेत्रलाई धार्मिक रूपमा शुद्ध बनाउँदै भविष्यमा यस्ता घटना नदोहरियोस् भन्ने कामनासहित पूजा–पाठ र ध्वजा स्थापना गरेका हौं।
सो अवसरमा स्थानीय बासिन्दा तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। समुदायस्तरमा गरिएको यस्तो धार्मिक तथा सामाजिक पहलले आपसी एकता, सकारात्मक सोच र सुरक्षित वातावरण निर्माणमा टेवा पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया