पर्सा- वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ अन्तर्गत मौजे सिस्रिया टोलमा रहेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सातोमाई मन्दिर विगत तीन वर्षदेखि अलपत्र अवस्थामा रहँदा स्थानीयवासीको आक्रोश चुलिएको छ । लामो समयसम्म कुनै ठोस पहल नदेखिएको भन्दै स्थानीय युवाहरूले प्रदेश सभा सदस्य रमेश कुर्मीको घर घेराउ गर्दै दबाबमूलक प्रदर्शन गरेका छन ।
मन्दिर क्षेत्रको सौन्दर्यीकरण, पुनःनिर्माण तथा व्यवस्थापनका लागि पटक–पटक सम्बन्धित निकाय र जनप्रतिनिधिलाई जानकारी गराइए पनि समस्या समाधानतर्फ कुनै गम्भीर चासो देखाइएको छैन । चुनावका बेला आश्वासन मात्र पाइएको तर कार्यान्वयन शून्य रहेको आरोप लगाउदैं युवाहरुले बाध्य भएर घर नै घेराउ गर्न पुगेको स्थानिय निरज प्रसाद कुर्मीले बताए ।
प्रदर्शनमा सहभागी युवाहरूले सातोमाई मन्दिर केवल धार्मिक स्थल मात्र नभई सिस्रिया टोलको पहिचान र सांस्कृतिक सम्पदा भएको बताएका छन । “तीन वर्षसम्म मन्दिर अलपत्र हुनु जनप्रतिनिधिको लापरवाहीको परिणाम हो,” उनीहरूको भनाइ छ । उनीहरूले यथाशीघ्र काम सुरु गर्न स्पष्ट समयसीमा तोक्न माग गर्दै अब पनि बेवास्ता भए कडा कदम चाल्ने चेतावनी दिएका छन ।
स्थानीय बासिन्दाले मन्दिर क्षेत्र जीर्ण बन्दै जाँदा धार्मिक गतिविधि प्रभावित हुनुका साथै सामाजिक सद्भावमा समेत नकारात्मक असर परेको बताएका छन । विशेषगरी चाडपर्व र पूजा–अर्चनाको समयमा मन्दिरको अवस्था दयनीय हुँदा श्रद्धालुहरू निराश हुँदै आएको देखिएको छ ।
यस घटनाले मधेश प्रदेशमा विकास योजनाको कार्यान्वयन, बजेट सदुपयोग र जनप्रतिनिधिको जवाफदेहितामाथि प्रश्न खडा गरेको छ । स्थानीयस्तरमा योजना घोषणा भए पनि समयमै काम नहुनु, अनुगमन कमजोर हुनु र राजनीतिक इच्छाशक्ति नदेखिनु र प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मीको लापरवाहीका कारण मुख्य समस्या भएको स्थानिय युवाहरुले आरोप समेत लगाएका छन ।
मन्दिरको बिषयमा पटक पटक छलफल र प्रदेश सभा सदस्य कुर्मीलाई ध्यानकर्षण गराएका छौं, प्रदेश सभा सदस्य कुर्मीले स्वयंम २० लाख रुपैया आफ्नो ब्यक्तिगत लगानीबाट मन्दिरको काम पुर्ण रुपमा सम्पन्न गराउने प्रतिबद्धता जनाएका थिए, तर उनको आसवाशन भाषबाजी र राजनितिक रोटी सेक्ने प्रवृतिमा मात्र सिमित भएको अर्का एकजना स्थानिय युवाले बताएका छन । उनले भने सातोमाई मन्दिरको काम यथाशिघ्र सुरु भएन भने जुन किसिमले मन्दिर अलपत्र छ,सोही अनुसार मन्दिरको काममा जिम्मेवार रहेको प्रदेश सभा सदस्य लगायतलाई अलपत्र अवस्थामा पुर्याउने आफुहरु अग्रसर रहेको जानकारी दिएका छन ।
सातोमाई मन्दिरको विषय केवल स्थानीय असन्तुष्टि मात्र नभई जनप्रतिनिधि र सरकारको कार्यशैलीमाथि जनताको विश्वास परीक्षण गर्ने मुद्दाका रूपमा अघि आएको छ । तत्काल स्पष्ट कार्ययोजना र कामको सुरु नहुँदा यो खबरदारी कार्यक्रम आन्दोलनको रुपमा अझ चर्किने संकेत देखिएको छ ।
यता मन्दिरको निर्माण अहिले सम्म कति लागत खर्च भयो, कतिको बजेट बिनियोजन गरिएको छ, भने लागत र खर्च बिवरणमा समेत पारदरसिता देखिएको छैन ।
यस बिषयमा प्रदेश सभा सदस्य कुर्मीले साउन महिना सम्म मन्दिरको काम पुर्णरुपमा सम्पन्न हुने दावी गरेका हुन ।
प्रतिक्रिया