जनकपुरधाम- जिल्ला प्रहरी कार्यालय धनुषाले असोज महिनाका लागि प्रहरी निरीक्षक ओम प्रकाश यादवलाई “महिनाको उत्कृष्ट प्रहरी (Police of the Month) ”को सम्मान प्रदान गरेको छ।
निरीक्षक यादव हाल जिल्ला प्रहरी कार्यालय धनुषाको मातहतमा रहेको इलाका प्रहरी कार्यालय यदुकुहाका प्रमुख हुन्। उनले पछिल्ला महिनाहरूमा अपराध नियन्त्रण, अनुसन्धान र सार्वजनिक सुरक्षामा देखाएको तत्परता र कार्यसम्पादनको कारण यो उपाधिका लागि छनोट गरिएको हो।
प्रहरी स्रोतका अनुसार, निरीक्षक यादवले आफ्नो कार्यकालमा रहँदै विभिन्न अपराधका मुद्दामा फरार रहेका १४ जना प्रतिवादीहरूलाई पक्राउ गरी कानूनी कारबाही अघि बढाएका छन्। साथै उनले हुण्डी कारोबारमा संलग्न भारतीय नागरिकहरूलाई नियन्त्रणमा लिने, ठगी घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी पिडितलाई रकम फिर्ता गराउने, र संगठित अपराध नियन्त्रणमा ठोस कदम चालेका छन्।
त्यसका साथै उनले रामपरी देवी बरही ठाकुर हत्या प्रकरणका मुख्य अभियुक्तलाई पक्राउ गर्न सहयोगी भूमिका खेलेका थिए। न्भल(श् आन्दोलनका क्रममा प्रमुख मन्त्रीको निवास र सरकारी संरचनामा आगजनी हुन नदिन, साथै लुटपाटमा संलग्न समूहहरूलाई नियन्त्रणमा लिने कार्यमा पनि उनी सक्रिय देखिएका थिए।
यस्तै, धार्मिक संवेदनशीलता देखिएको जनकपुर उपमहानगरपालिका–२० रुपैठा क्षेत्रमा गणेश र दुर्गा मूर्ति सेलाउने घटनालाई नियन्त्रणमा ल्याउन उनले निर्णायक भूमिका खेलेका थिए। उनले भीड नियन्त्रण र साम्प्रदायिक सौहार्द कायम गर्न टोलीसहित तत्कालिक रूपमा प्रभावकारी कदम चालेका थिए।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक नरहरी रेग्मीले निरीक्षक यादवले आफ्नो जिम्मेवारी अत्यन्त व्यावसायिक दक्षता, ईमानदारी र समर्पणसहित निर्वाह गरेको बताउँदै भने,
“निरीक्षक यादवको सक्रियता र नेतृत्वले प्रहरी संगठनको प्रतिष्ठा थप मजबुत भएको छ।”
उनीकै नेतृत्वमा गरिएको उल्लेखनीय कार्यको कदरस्वरूप जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई असोज महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित गरी सम्मानपत्र प्रदान गरेको हो।
प्रतिक्रिया