श्री राम चरित्र भगत माध्यमिक विद्यालय, पकहा मैनपुरका प्रधानाध्यापक पप्पु प्रसाद चौहानमाथि सरकारी विद्यालयमा भर्ना गरिएका विद्यार्थीलाई आफ्नै निजी बोर्डिङमा पढाउने गरेको गम्भीर आरोप लागेको छ।
प्रधानाध्यापक चौहानले आफ्नै परिवारको नाममा “सुकदेव एकेडेमी” सञ्चालन गर्दै आएका छन्, जहाँ कक्षा १ देखि ५ सम्मका विद्यार्थी अध्ययनरत छन्। तर उक्त निजी विद्यालयले सम्बन्धित स्थानीय तहबाट आधिकारिक अनुमति नलिएको सामाचार स्रोतको दावी छ ।
शिक्षा मन्त्रालयको प्रावधानअनुसार सबै विद्यार्थीहरूको विवरण EIMIS (Education Management Information System) मा दर्ता हुनुपर्ने व्यवस्था छ। तर स्रोतका अनुसार, विद्यार्थीहरूको नाम सरकारी विद्यालयमै अभिलेख राखिएको भए पनि वास्तविक पढाइ निजी बोर्डिङमा भइरहेको दाबी गरिएको छ।
यस अवस्थाले अभिभावकहरू दोहोरो मारमा परेको देखिन्छ। एकातिर उनीहरू निजी विद्यालयमा महँगो शुल्क तिर्न बाध्य छन् भने अर्कोतिर ती विद्यार्थीहरूको नाममा आउने छात्रवृत्ति, दिवा खाजा तथा पाठ्यपुस्तकको रकम समेत दुरुपयोग हुने आशंका गरिएको छ।
सामुदायिक विद्यालय, जहाँ अधिकांश गरिब तथा निमुखा वर्गका बालबालिकाले शिक्षा प्राप्त गर्छन्, त्यहीँ क्षेत्रमा यस्ता गतिविधि देखिनु गम्भीर चिन्ताको विषय बनेको छ। स्थानीयहरूका अनुसार यो प्रवृत्ति केवल अनियमितता मात्र नभई संगठित ठगीको रूप लिन थालेको छ।
स्थानीय बुद्धिजीवीहरू भन्छन्, “निजी विद्यालय सञ्चालकलाई सामुदायिक विद्यालयको नेतृत्व दिनु नै गलत अभ्यास हो। यस्तो अवस्थामा सरकारी विद्यालयको गुणस्तर सुधारभन्दा निजी संस्थालाई प्राथमिकता दिइन्छ।”उहाँहरुले“यो केवल भ्रष्टाचार होइन, गरिब र निमुखा नागरिकको अधिकारमाथिको प्रत्यक्ष हमला भईरहेको बताएका छन ।
यस बिषयमा प्रधानाध्यापक चौहानसंग बुझ्न ९८०८५४५३९५ को नम्बरमा सम्पर्क गर्न खोज्दा फोन नै लागेन्न ।

प्रतिक्रिया