Menu

आजको मौसम

छठ घाट मर्मतमा पकहाँमैनपुर गाउँपालिकाको विभेद : पकहाँ टोलमा रातदिन काम, मैनपुर टोलको घाट भने अलपत्र

Author
Bhagwan kurmi |
November 14, 2026
Featured

संकेतिक तस्विर 
वीरगञ्ज- पर्साको पकहाँमैनपुर गाउँपालिकामा छठ पर्वको तयारीका क्रममा छठ घाट मर्मतसम्भारमा विभेद गरिएको आरोप लागेको छ। गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहता र वडा नम्बर ३ का वडा अध्यक्ष सन्जय चौहानमाथि एउटै वडाभित्र रहेका दुई टोलमध्ये एकलाई प्राथमिकता दिएको र अर्को टोललाई बेवास्ता गरेको स्थानीयको गुनासो छ।

पकहाँमैनपुर गाउँपालिका वडा नम्बर ३ अन्तर्गत पर्ने मैनपुर टोलस्थित छठ घाट मर्मतसम्भारका लागि स्थानीयले एक सातादेखि पटक–पटक वडा अध्यक्ष चौहान र गाउँपालिका अध्यक्ष मेहतासँग माटो तथा जेसीबी मेसिन उपलब्ध गराउन आग्रह गर्दै आएका थिए। तर, पटक–पटक अनुरोध गर्दा पनि जनप्रतिनिधिहरूले चासो नदेखाएको स्थानीयको आरोप छ। जेसीबी मेसिन बिग्रिएको भन्दै काम नगर्ने बहानासमेत बनाइएको उनीहरूको गुनासो छ।

स्थानीयका अनुसार गाउँपालिकाका अन्य वडामा भने तत्काल माटो पुर्ने, जेसीबी मेसिन लगाउने र छठ घाट मर्मतसम्भार गर्ने काम सम्पन्न गरिएको छ। तर, एउटै वडा नम्बर ३ को मैनपुर टोलस्थित छठ घाट भने जनप्रतिनिधिको बेवास्ताका कारण अझै अलपत्र अवस्थामा रहेको छ।

वडा नम्बर ३ मा पकहाँ र मैनपुर गरी दुई टोल रहेका छन,तर वडा अध्यक्ष चौहानले आफ्नो टोल पकहाँस्थित छठ घाटको मर्मतसम्भारमा आफैँ उपस्थित भएर रातदिन काम गराएका थिए। माटो व्यवस्थापनदेखि आवश्यक सम्पूर्ण काममा सक्रिय देखिएका वडा अध्यक्षले सोही वडाको अर्को टोल मैनपुरस्थित छठ घाटमा भने एकपटक पनि पुगेर चासो नदेखाएको आरोप लागेको छ।

यस घटनाले एउटै वडाका नागरिकलाई समान व्यवहार गर्नुपर्ने जनप्रतिनिधिहरूले टोलगत रूपमा विभेद गरेको हो कि भन्ने प्रश्नसमेत उठाएको छ।

अझ रोचक पक्ष त के छ भने गाउँपालिकामा करोडौँ रुपैयाँ इन्धन खर्च हुने गरेको चर्चा भइरहँदा आवश्यक परेको बेला जेसीबी मेसिन उपलब्ध नहुनु र मेसिन मर्मतको विषयमा समेत प्रश्न उठ्नुले गाउँपालिकाको व्यवस्थापनमाथि गम्भीर प्रश्न खडा गरेको छ। जेसीबी मर्मतसम्भारमा लाखौँ रुपैयाँ खर्च हुने तर जनताको अत्यावश्यक काममा भने विभिन्न बहाना बनाइने गरेको स्थानीयको आरोप छ। 

यस विषयमा गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहता र वडा नम्बर ३ का वडा अध्यक्ष सन्जय चौहानसँग प्रतिक्रिया लिन खोज्दा दुवै जनप्रतिनिधिले समस्या समाधानको जिम्मेवारी लिनुको सट्टा एकअर्कामाथि आरोप–प्रत्यारोप लगाएका थिए।

छठ पर्वजस्तो महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व नजिकिँदै गर्दा पनि छठ घाटजस्तो आधारभूत पूर्वाधारको मर्मतसम्भारमा जनप्रतिनिधिहरूबीच समन्वय नदेखिनु दुःखद विषय बनेको छ।

जनताको करबाट चल्ने स्थानीय सरकारमा विकास र सेवा सुविधा कुनै व्यक्ति, टोल वा आफ्नो राजनीतिक प्रभावका आधारमा वितरण हुने हो कि सबै नागरिकले समान अधिकार पाउने हुन्? मैनपुर टोलको छठ घाटको अवस्थाले पकहाँमैनपुर गाउँपालिकाको जनप्रतिनिधिमाथि यही प्रश्न खडा गरेको छ।

छठ पर्वअघि नै घाटको मर्मतसम्भार सम्पन्न गरी व्रतालु तथा श्रद्धालुका लागि सुरक्षित र सहज वातावरण बनाउनु गाउँपालिकाको तत्कालीन जिम्मेवारी हो। अन्यथा, जनताको धार्मिक आस्था र आधारभूत आवश्यकतामाथि गरिएको बेवास्ताको जवाफ जनप्रतिनिधिले दिनुपर्नेछ। 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3