वीरगञ्ज- पर्साको पकहामैनपुर गाउँपालिका–२ स्थित वडा कार्यालयमा स्थानीयवासीले तालाबन्दी गरेका छन। वडा कार्यालयमा सेवाग्राहीले पाउनुपर्ने सामान्य सेवासमेत सहज रूपमा उपलब्ध नभएको, प्रशासनिक लापरबाही, आर्थिक अपारदर्शिता तथा विकास निर्माणका योजनामा अनियमितता भएको आरोप लगाउँदै आक्रोशित स्थानीयवासीले मंगलबार वडा कार्यालयमा तालाबन्दी गरेका हुन।
वडा अध्यक्ष मुकुटप्रसाद चौहानको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै स्थानीयवासीले सार्वजनिक बजेटको हिसाबकिताब माग गर्दा समेत स्पष्ट जवाफ नपाएको गुनासो गरेका छन।
स्थानीयका अनुसार सामान्य सिफारिस तथा अन्य प्रशासनिक कामका लागि समेत सर्वसाधारणले पटक–पटक वडा कार्यालय धाउनुपर्ने बाध्यता छ। जनताको सेवाका लागि रहेको वडा कार्यालयमै सेवाग्राहीले सास्ती भोग्नुपरेको उनीहरूको आरोप छ।
वडा अध्यक्ष चौहानमाथि सबैभन्दा गम्भीर आरोप सार्वजनिक पोखरीको ठेक्का प्रक्रियामा लागेको छ। स्थानीयवासीले पोखरीको ठेक्का पारदर्शी प्रतिस्पर्धाका आधारमा नभई अध्यक्षका निकट व्यक्ति तथा परिवारसँग जोडिएका व्यक्तिलाई प्राथमिकता दिएर लगाइएको आरोप लगाएका छन। त्यतिमात्र होइन, एउटै पोखरीको मर्मतसम्भारका नाममा पटक–पटक बजेट खर्च देखाएर आर्थिक अपचलन गरिएको हुन सक्ने उनीहरूको आशंका छ।
त्यसैगरी, वडा नम्बर–२ मा वितरण गरिएको इन्डक्सन चुल्हो तथा भठ्ठी चुल्हो, वडा कार्यालयद्वारा सञ्चालित सिलाइकटाइ तालिम र सिलाइ मेसिन वितरण कार्यक्रममा समेत अनियमितता भएको आरोप स्थानीयवासीले लगाएका छन।
लाभग्राही छनोट, सामग्री खरिद, वितरण प्रक्रिया तथा खर्चको विवरण सार्वजनिक गर्नुपर्ने उनीहरूको माग छ।
यतिमात्र होइन, छठ घाटको मर्मतसम्भारमा समेत आर्थिक अनियमितता भएको आशंका स्थानीयले व्यक्त गरेका छन। सार्वजनिक बजेटबाट भएका कामको वास्तविक अवस्था र खर्चको विवरण सार्वजनिक नगर्नुले थप शंका उत्पन्न गरेको उनीहरूको भनाइ छ।
मंगलबार बिहान वडा कार्यालयमा तालाबन्दी गर्ने क्रममा ११ बजेसम्म पनि वडा अध्यक्ष मुकुटप्रसाद चौहान कार्यालयमा उपस्थित नभएको भन्दै स्थानीयवासी थप आक्रोशित बनेका थिए। जनताका गुनासा सुन्नुपर्ने र सार्वजनिक बजेटको हिसाब दिनुपर्ने जनप्रतिनिधि नै कार्यालयमा उपस्थित नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको स्थानीयको भनाइ छ।
स्थानीयवासीले वडा अध्यक्षसँग सार्वजनिक पोखरीको ठेक्का सम्झौता, मर्मतसम्भारमा खर्च भएको बजेट, इन्डक्सन तथा भठ्ठी चुल्हो वितरण, सिलाइकटाइ तालिम, सिलाइ मेसिन वितरण र छठ घाट मर्मतसम्भारलगायत सम्पूर्ण योजनाको आय–व्यय विवरण सार्वजनिक गर्न माग गरेका छन।
जनताको मतबाट निर्वाचित जनप्रतिनिधिको पहिलो दायित्व जनताको सेवा गर्नु, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु र सरकारी बजेटको पारदर्शी उपयोग गर्नु हो। तर वडा कार्यालयको सेवा प्रवाहदेखि सार्वजनिक योजनाको खर्चसम्म प्रश्न उठेपछि वडा अध्यक्ष चौहानको कार्यशैलीमाथि गम्भीर प्रश्न खडा भएको छ।
स्थानीयवासीले लगाएका आरोपको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, सार्वजनिक बजेटको खर्च विवरण नागरिकसमक्ष प्रस्तुत गर्न तथा दोषी देखिए कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
यसैबीच, वडा अध्यक्ष मुकुटप्रसाद चौहानको प्रतिक्रिया लिन पटक–पटक फोन सम्पर्क गर्ने प्रयास गर्दा पनि उनको फोन सम्पर्क हुन सकेन। उनको प्रतिक्रिया प्राप्त भएमा समाचारमा समेटिनेछ।
अब सम्बन्धित गाउँपालिका, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सरोकारवाला निकायले यी सबै आरोपमाथि गम्भीरतापूर्वक छानबिन गर्ने कि सार्वजनिक बजेटको हिसाब माग्ने नागरिकको आवाजलाई बेवास्ता गर्ने भन्ने प्रश्न उठेको छ।

