वीरगञ्ज– चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज भन्सार कार्यालयले सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट संकलन गरेको छ। कार्यालयका अनुसार साउन र भदौ महिनामा मात्रै पेट्रोलियम पदार्थको आयातबाट रु. ११ अर्ब १८ करोड राजस्व उठेको छ।
उक्त अवधिमा भन्सार कार्यालयमार्फत रु. २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात गरिएको हो। आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुहरूमध्ये पेट्रोलियम पदार्थको योगदान २८.५६ प्रतिशत रहेको छ।
भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार वीरगञ्ज भन्सारको राजस्व मुख्यतः आयातमा निर्भर रहेको छ, जसमा पेट्रोलियम पदार्थ र सवारीसाधनको हिस्सेदारी उल्लेखनीय रहेको छ। त्यस्तै, यातायातका साधन तथा तिनका पार्टपुर्जा आयातबाट रु. ६ अर्ब १४ करोड (१५.६८%) राजस्व संकलन भएको छ।
फलाम तथा फलामजन्य सामग्रीबाट रु.२ अर्ब ५४ करोड (६.४९%) र कपडाबाट रु.१ अर्ब ९८ करोड (५.०६%) राजस्व संकलन भएको कार्यालयले जानकारी दिएको छ।
कुल रूपमा वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु। ३९ अर्ब १५ करोड राजस्व संकलन गरेको छ।
प्रतिक्रिया