काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले हालको राजनीतिक परिस्थिति मुलुकलाई प्रतिगमन र अराजकतर्फ धकेल्ने नियतले सञ्चालन भइरहेको बताउनुभएको छ।
भक्तपुरमा बिहीबार नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उहाँले नयाँ पुस्ताका नाममा देशभित्र अस्थिरता फैलाउने र जननिर्वाचित सरकार फाल्ने षड्यन्त्र भएको बताउनुभयो। पोखरेलले भन्नुभयो – ‘नयाँ पुस्ताका युवाका नाममा नेपाल देशलाई समाप्त पार्ने प्रयास भयो। जननिर्वाचित सरकार फालियो। नेपालका ऐतिहासिक सम्पदालाई तहसनहस बनाइयो। नेपाल प्रहरीको मनोबल गिराउन संरचना ध्वस्त पारियो, हतियार लुटियो र प्रहरीलाई नाङ्गो बनाएर अपमानित गरियो।’
उहाँले सरकारमा रहेका व्यक्तिहरू शान्ति–सुरक्षा कायम गर्नुभन्दा अराजकतालाई प्रश्रय दिन लागेका बताउनुभयो । ‘सरकारको जिम्मेवारी शान्ति र स्थायित्व कायम गर्नु हो, तर अहिलेका शासकहरू त्यही दायित्वबाट विमुख भएका छन्’, उहाँले भन्नुभयो ।
जेनजी आन्दोलनका मागबारे उहाँले स्पष्ट पार्दै भन्नुभयो – ‘जेनजीका नाममा नयाँ पुस्ताले सामाजिक सञ्जाल खुला गर्नुपर्ने र भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग राखेर आन्दोलन गरेको थियो। तत्कालीन सरकारले सामाजिक सञ्जाल बन्द गर्न चाहेको थिएन, व्यवस्थित गर्न मात्रै चाहेको थियो।’
उहाँले अहिलेको सरकारले प्रतिशोधको राजनीति सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘आज नेकपा एमाले र नेपाली कांग्रेसजस्ता पार्टीमाथि आक्रमण भइरहेका छन्। यी नै पार्टीहरूले आफ्ना नेता–कार्यकर्ता मार्ने माओवादीलाई शान्तिको बाटोमा ल्याएका थिए। तर अहिले ती शक्तिहरूमाथि नै प्रतिशोधको राजनीति भइरहेको छ।’
भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै उहाँले अहिलेको छानबिन समितिले निष्पक्षता कायम गर्न नसक्ने बताउनुभयो। ‘अपराधमा संलग्नलाई छाड्ने गृहमन्त्रीले गोली चलाउन आदेश नै नदिएका पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ गर्न खोजिरहेका छन्’, पोखरेलले भन्नुभयो ।
अहिलेको सरकार र गृहमन्त्री अपराध र अपराधीको पक्षमा उभिएको उहाँले दाबी गर्नुभयो । ‘अहिलेका गृहमन्त्री राज्य चलाउने हैसियत राख्दैनन् भन्ने कुरा उनको व्यवहारले देखाएको छ। सरकार नागरिक दायित्वप्रति जिम्मेवार छैन, बरु अपराधीको पक्षमा उभिएको छ’, पोखरेलले भन्नुभयो ।
उहाँले यस्तो अवस्थामा देशमा निष्पक्ष चुनाव सम्भव नहुने बताउनुभयो। ‘सरकार राजनीतिक दललाई विश्वासमा लिएर होइन, राजनीतिक दललाई किनारामा राखेर तत्कालीन राजा ज्ञानेन्द्रले जस्तै चुनाव गराउने बाटोमा अघि बढेको छ’, उहाँले भन्नुभयो ।
उहाँले हालका प्रधानमन्त्री सुशीला कार्की संविधानले मान्यता नदिएको बाटोबाट प्रधानमन्त्री बनेको दाबी गर्नुभयो। उहाँले भन्नुभयो – ‘सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश रहेकी व्यक्तिले संविधानले नचिनेको बाटोबाट प्रधानमन्त्री बन्नु असंवैधानिक हो। आज जुन बाटोबाट उहाँ प्रधानमन्त्री हुनुभएको छ, त्यो संविधानले मान्यता दिएको बाटो होइन।’
महासचिव पोखरेलले नेकपा एमाले सधैँ जनताको बीचमा जाने पार्टी भएको बताउनुभयो। उहाँले भन्नुभयो – ‘एमाले जनताको बीचमा जान डराउने पार्टी होइन। षड्यन्त्र र भ्रमको भण्डाफोर गर्नका निम्ति पनि हामी जनतामाझ जानेछौं। ’उहाँले मुलुकलाई प्रतिगमन र अराजकतातर्फ लैजाने प्रयासको विरोध गर्दै संविधान र राष्ट्रिय एकताको पक्षमा सबै देशभक्त शक्तिलाई एक ठाउँमा आउन आह्वान गर्नुभयो। ‘अहिलेको सरकार नागरिक सरकार होइन। अब हामी सबै मिलेर जननिर्वाचित नागरिक सरकार निर्माणको अभियानमा लाग्नुपर्छ’, उहाँले भन्नुभयो ।
पार्टीभित्र पुनर्गठनको चर्चा भइरहेका सन्दर्भमा उहाँले अहिलेको संकटको समयमा एकता आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो – ‘पार्टीमाथि आक्रमण भइरहेको बेला पुनर्गठनको कुरा गरेर तमासा देखाउने बेला होइन। कसैलाई आफू योग्य लाग्छ भने महाधिवेशनमा प्रतिस्पर्धा गर्ने अवसर छ। सडकमा नाटक देखाएर पार्टी बलियो हुँदैन। ’उहाँले संकटको समयमा विभाजन होइन, एकताको आवश्यकता रहेको बताउँदै भन्नुभयो – ‘अहिले पार्टीभित्र मात्र होइन, सिंगो लोकतान्त्रिक शक्तिहरूबीच पनि एकताको खाँचो परेको छ। पार्टीको नेतृत्व सडकबाट होइन, विधि र प्रक्रियाबाट तय हुन्छ भन्ने कुरा सबैले बुझ्नुपर्छ।’
प्रतिक्रिया