काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार संविधानभन्दा बाहिरबाट बनेको बलमिचाइँले बनेको बताउनु भएको छ ।
भक्तपुरको गुण्डुमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले सुशीला कार्की नेतृत्वको सरकार संविधान अनुसार नबनेको बताउनु भयो । ‘अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि सर्त राख्नुभयो– संसद् विघटन भए मात्रै बन्छु, नत्र देशमा जेनजीले आगो बाल्छन् । लोकतन्त्रको जग भत्काउने सर्तमा प्रधानमन्त्री हुनुभयो,’ अध्यक्ष ओलीले भन्नुभयो ।
उहाँले संविधानभन्दा बाहिर गएर प्रधानमन्त्री बन्नको लागि कार्की २३ र २४ गते जेनजी बनेर सडकमा उत्रिएको पनि अध्यक्ष ओलीले दाबी गर्नुभयो ।
‘यो सरकार नेपालीको होइन । अरू कसको हो भन्ने थाहा छैन । उहाँहरू एउटा खास उद्देश्यले काम गरिराख्नुभएको छ । पासपोर्ट रोक्ने रे, मलाई काठमाडौं छोड्न नपाउने रे, यो सडक तमासा नभए के हो रु’ ओलीको भनाई थियो ।
अध्यक्ष ओलीले सुशीला कार्कीको डरले आफू नभाग्ने प्रष्ट पार्नुभयो । सुशीला कार्कीको डरले केपी ओली भाग्दैन । नाटक नगर्दा हुन्छ,’ उहाँले भन्नुभयो । यस्तै ओलीले अहिलेको गृहमन्त्रीको नाम आफूले गृहमन्त्री भएपछि मात्रै सुनेको भन्दै धेरै नचम्किन चेतावनी दिनुभयो ।
‘गृहमन्त्रीबारे त मैले भएपछि मात्र थाहा पाएँ । गृहमन्त्री बाबुलाई म धेरै नउत्ताउलिन, नचम्किन सल्लाह दिन चाहन्छु । राजनीति, देश चलाउने कुरा ख्याल ठट्टा होइन । बुझेर चल्न म सुझाव दिन्छु’, अध्यक्ष ओलीले भन्नुभयो । उहाँले संविधान र जनताको मतभन्दा बाहिरबाट बनेकाहरूले धेरै फुर्ती नलाउन पनि चेतावनी दिनुभएको छ ।
प्रतिक्रिया