पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर ८, बिरुवा चोक नजिकै ट्रयाक्टरको टेलरमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा पर्सागढी–८ हरपुर निवासी २५ वर्षीय प्रितम पटेल रहेका छन्। बुधबार राति बाराको जितपुरतर्फ गइरहेको ०३–०३६–प १०३९ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई धान लोड गर्न रोकिने क्रममा सडकमै उभिएको ना ६ त ५०९४ नम्बरको ट्रयाक्टरको टेलरमा ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक पटेलको घटनास्थलमै ज्यान गएको पर्सा प्रहरी स्रोतले जनाएको छ। मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २७ वर्षीय निरज साह कलवार गम्भीर घाइते भएका छन्। हाल उनको उपचार बाराको नौतनस्थित एलएस न्युरो हस्पिटलमा भइरहेको छ।
प्रहरी चौकी बड्निहारका प्रहरी सहायक निरीक्षक सञ्जय पाण्डेले दिएको जानकारीअनुसार, दुर्घटनापछि ट्रयाक्टर चालक र सवारी धनी दुवै जना फरार रहेका छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया