पर्सा ठोरी गाउँपालिकामा शनिबार राति सवारी दुर्घटनामा परेर एक पुरुषको मृत्यु भएको छ । वीरगञ्ज ठोरी हुलाकी सडक खण्ड अन्तरगत ठोरी गाउँपालिका –४ को मालीवस्ती र गोपीवस्तीको मध्य भागमा सोही गाउँपालिका–५ ठुलोबाघमोर्चाका फुर्बा लोप्चनको मृत्यु भएको विजयवस्ती प्रहरीले जनाएको छ ।
रातको करीब ९ बजे मोटरसाईकलमा ठोरी –४ , आठघरबाट ठोरी –५ , ठुलोबाघमोर्चा जाँदै गरेका लोप्चनलाई तेल बोक्ने ट्याङकरले ठक्कर दिएको ठोरी –५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चनले जानकारी दिए । वडाध्यक्ष लोप्चनका अनुसार ना ७ ख २१७८ नम्बरको ट्याङकरले लोप्चनलाई ठक्कर दिएर भागेको थियो ।
ट्याङकरमा लागेको रगत र घटनास्थलमा रहेको इन्डिकेटर लाइटले ट्याङ्करले ठक्कर दिएको पुष्टी भएको प्रहरीलाई उद्धृत गर्दै वडाध्यक्ष लोप्चनले बताए । सो ट्याङ्करलाई इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षकको टोलीले नियन्त्रणमा लिएको विजयवस्ती प्रहरी चौकीले पुष्टी गरेको छ ।
मृतकको शवलाई राति नै पोस्टमार्टमका लागि बिरगंज पठाइएको छ ।

प्रतिक्रिया