पर्सा— नेकपा एमाले पर्साले पार्टी सुदृढीकरणलाई केन्द्रमा राख्दै जिल्लाभर ‘सफाई अभियान’ सुरु गर्ने तयारीलाई तीव्र बनाउने भएको छ।
बुधबार ईक्रान्ति खबरका सम्वाददातासंग नेताहरुले पार्टीभित्र देखिएका अन्तर्घाती प्रवृत्ति, ठेकेदार मानसिकता, दलाल, बिचौलिया र अवसरवादविरुद्ध कठोर कदम चाल्ने र जिल्लाभर ‘सफाई अभियान’ सुरु गर्ने तयारीलाई तीव्र बनाउने बताएका छन।
पार्टीका केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजराले अब एमालेभित्र अनुशासनविपरीत गतिविधि गर्ने, पार्टीको नाम बेचेर व्यक्तिगत स्वार्थ पूरा गर्ने र संगठन कमजोर बनाउने तत्वलाई कुनै पनि हालतमा नछोडिने स्पष्ट पारे।
“एमाले अब सम्झौताको होइन, सफाईको चरणमा प्रवेश गरेको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेता हजराले भने पार्टीलाई कमजोर बनाउने अन्तर्घातीहरूलाई चिन्ह लगाएर निष्कासनसम्मको कारबाही गरिने चेतावनी दिएका छन। उनले पार्टीलाई जनताको भरोसाको केन्द्र बनाउन ‘कडा निर्णय अपरिहार्य’ भएको बताए।
यसैगरी पर्सा जिल्ला अध्यक्ष विश्वम्भर शर्माले पर्सामा एमालेलाई मजबुत बनाउने अभियान अब निर्णायक मोडमा पुगेको उल्लेख गर्दै संगठनभित्रको विकृति अन्त्य नगरी सुदृढीकरण सम्भव नरहेको बताए।
“हामी संगठनलाई शुद्ध, अनुशासित र जनमुखी बनाउन चाहन्छौं। दलाल, बिचौलिया र अवसरवादी सोच बोकेर एमालेमा बस्न खोज्नेहरूलाई अब ठाउँ छैन,” शर्माले प्रष्ट पारे। उनले कार्यकर्तालाई एकताबद्ध भएर अभियानमा सक्रिय हुन आह्वान गरे।
यसै सन्दर्भमा पर्सा जिल्ला सचिव महेश दासले पार्टीको नाममा व्यक्तिगत फाइदा लिन खोज्ने प्रवृत्ति विरुद्ध कडा निगरानी र छानबिन सुरु भइसकेको जानकारी दिए। उनले यस बिच पर्सा जिल्लाको चारवटै निर्वाचन क्षेत्रको क्षेत्र नम्बर नम्बर १ वाहेक तीन वटा निर्वाचन क्षेत्र को रिपोर्ट क्षेत्रिय कमिटीले जिल्लामा बुझाएको र क्षेत्र न १ को रिपोर्ट यसै साता आएपछि जिल्ला कमटीको बैठकले कारवाहीको निर्णय लिने बताए । उनले भने “एमाले अब ‘क्लिन’ र ‘कमिटेड’ क्याडरको पार्टी बन्ने दिशामा अघि बढेको छ। जो पार्टीको नीति र अनुशासनमा बस्न सक्दैन, उसलाई बाहिरिनु नै उत्तम विकल्प हुनेछ,” दासले स्पष्ट चेतावनी दिए।
एमाले पर्साले निकट भविष्यमा वडा तहदेखि जिल्ला तहसम्म संगठन सुदृढीकरणका कार्यक्रमहरू सञ्चालन गर्दै ‘सफाई अभियान’लाई औपचारिक रूपमा लागू गर्ने तयारी गरेको जनाएको छ।
नेताहरूका अनुसार, यो अभियानले पार्टीलाई अझ बलियो, अनुशासित र जनआधारित बनाउने विश्वास लिइएको छ।

प्रतिक्रिया