नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले नेतृत्वमाथि संकट आएको भन्दै फेरि ‘वाम एकता’ को बहस चलाइनु उपयुक्त नभएको धारणा राख्नुभएको छ। उहाँले पार्टी एकता स्पष्ट विचार, सिद्धान्त र दीर्घकालीन राजनीतिक गन्तव्यका आधारमा मात्र हुनुपर्ने बताउनुभएको छ।
नेता पाण्डेले केही नेता तथा कार्यकर्ताहरू फेरि पनि ‘वाम एकता’ को दौडधुपमा लागेका बताउँदै विगतमा पद प्राप्तिका लागि गरिएको एकताको तीतो अनुभव दोहोरिन नहुने उल्लेख गर्नुभएको छ। उहाँले हिजो पद प्राप्तिका लागि एकता गरिएको र अहिले कतिपयले आफ्नो गुम्दो अस्तित्व जोगाउन त्यसैलाई पुनः उठाइरहेको बताउनुभएको छ ।
उहाँले नेकपा ९एमाले० आफैँमा बलियो संगठनात्मक आधार र ऐतिहासिक विरासत बोकेको पार्टी भएकाले तात्कालिक राजनीतिक लाभभन्दा पनि दीर्घकालसम्म पार्टीलाई कसरी सशक्त, व्यवस्थित र एकताबद्ध राख्ने भन्नेमा ध्यान दिनुपर्ने बताउनुभएको छ।
पाण्डेले विचार र निश्चित गन्तव्यविनाको एकताले अन्ततः पार्टीको मूल्य, मान्यता र पहिचानलाई कमजोर बनाउने चेतावनी दिनुभएको छ। उहाँका अनुसार अहिलेको वास्तविक आवश्यकता भनेको पार्टीको पुनर्निर्माण गर्दै क्षमतावान, दक्ष र नयाँ पुस्ताका व्यक्तिहरू, विशेषगरी युवाहरूलाई पार्टीमा आकर्षित गर्नु हो। ‘विचार र निश्चित गन्तव्य विनाको एकताले अन्ततः पार्टीको मूल्य र मान्यतालाई डाइल्युट मात्र गर्छ, अहिलेको वास्तविक आवश्यकता भनेको पार्टीको पुनार्निर्माण गर्दै क्षमतावान र दक्ष व्यक्तिहरू, विशेषगरी युवाहरूलाई पार्टीमा भित्र्याउनु हो, यसो नगरिए पार्टी झन् साँघुरिँदै जाने निश्चित छ’, उहाँको धारणा छ’,उहाँको भनाइ छ।
उहाँले विगतमा वैचारिक आधारबिना गरिएको एकताको परिणाम पार्टीले भोगिसकेको उल्लेख गर्दै त्यसबाट पाठ सिक्नुपर्नेमा जोड दिनुभएको छ। ‘हिजो मौन बस्नु हाम्रो गल्ती थियो, तर आज पनि नबोल्नु गम्भीर मूर्खता हुनेछ,’ उहाँले भन्नुभएको छ।
नेता पाण्डेले एमालेलाई अब सत्ता र स्वार्थको जोडघटाउको राजनीतिबाट बाहिर निकालेर विधि, सुशासन र परिणाममुखी नेतृत्वसहितको नयाँ मार्गमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभएको छ।
उहाँले पार्टीभित्र सिद्धान्त, सुशासन र परिणाममुखी नेतृत्वलाई केन्द्रमा राखेर नयाँ राजनीतिक दिशा तय गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया