पर्सा- प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा पर्सा ३ का प्रभावशाली युवा नेता रुपेश पाण्डेयले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुको विकल्प नभएको बताएका छन् ।
पर्सा ३ बाट उम्मेदवारका रूपमा चर्चामा समेत रहेका पाण्डेयले मुलुक फेरि राजनीतिक स्थायित्वका लागि तोकिएकै मितिमा निर्वाचन गर्नुपर्नेमा जोड दिए । उनका अनुसार, सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार नै निर्वाचनका लागि बनेकाले जसरी भए पनि निर्वाचन सम्पन्न गर्नुपर्नेछ ।
हालै सम्पन्न जेनजी आन्दोलनलाई पाण्डेयले परिवर्तनको मार्गदर्शकका रूपमा व्याख्या गरे । आन्दोलनमा ७५ भन्दा बढी विद्यार्थी र युवाको प्रहरीको गोली लागेर मृत्यु भएको उल्लेख गर्दै उनले त्यसलाई हत्या ठहर गरे र तत्कालीन प्रधानमन्त्री तथा गृहमन्त्रीलाई जिम्मेवार ठहर गर्नुपर्ने बताए ।
उनले आन्दोलनको मर्मअनुसार सुशासन र भ्रष्टाचार नियन्त्रणलाई अब अनिवार्यरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । अब नयाँ पुस्ताले काम गर्ने नेतृत्व खोजिरहेको छ, पुराना नेताहरूबाट जनताले अपेक्षा गर्न छाडेका छन्, उनले भने ।
निर्वाचनमा होमिने तयारीमा रहेका पाण्डेयले विकासमै ध्यान केन्द्रित गर्ने समेत बताए। म शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमा ध्यान दिन्छु, उनले भने, यस क्षेत्रमा किसानले मल पाउने समस्या, उत्पादनको बजार अभाव, कोल्ड स्टोरको आवश्यकता लगायतका विषय तत्काल सम्बोधन गर्नुपर्छ ।
उनले विद्यालयमा अध्यापनको गुणस्तर, स्वास्थ्य चौकीको सेवा, बाटोघाटोको अवस्था सुधारलाई प्राथमिक एजेन्डा बनाउने बताए । साथै कृषिको प्रवर्धनका लागि सरकारी तहको सहयोगसहित सहजीकरण गर्ने योजना रहेको उनको भनाइ छ ।

प्रतिक्रिया