काठमाडौं- संविधान रक्षाका लागि भन्दै कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले शुक्रबार (आज) देशभर प्रदर्शन गर्ने भएको छ ।
केन्द्रीय बारका पदाधिकारीहरुको आकस्मिक बैठकले शुक्रबार दिउँसो १ बजे देशभरका बार इकाइमा प्रदर्शन गर्ने निर्णय गरेको हो । त्यसपछि बारले बेलुकी ५ बजे बार केन्द्रीय कार्यालय रामशाहपथबाट प्रदर्शन गर्ने योजना बनाएको छ ।
कानून व्यवसायीहरुले संविधान हातमा लिएर विरोध प्रदर्शन गर्ने तयारी गरेका हुन् । ५ बजेअघि प्रदर्शन गर्दा कर्फ्यू तोडेको सन्देश जाने भएकाले कर्फ्यूको अवधि सकिएपछि प्रदर्शन गर्ने तयारी बारको हो ।
‘संविधानको दायराबाट मुलुकको राजनीतिक निकास खोजिनुपर्छ, त्यो भनेको अहिलेको संविधान संरक्षण हुनुपर्छ भन्ने हाम्रो माग हो’ नेपाल बार एसोसिएसनका अध्यक्ष डा। विजयप्रसाद मिश्रले भन्नुभयो, ‘त्यसका लागि शुक्रबार दुई थरी कार्यक्रम गर्ने तयारी छ ।’ नेपाल बारले संबिधानसम्मत निकासबाहेक अरु कुरालाई स्वीकार गर्न नसकिने पनि प्रष्ट पारेको छ ।

प्रतिक्रिया