काठमाडौं- अर्थ मन्त्री विष्णु पौडेलले वर्तमान सरकारलाई मुलुककै सबैभन्दा बलियो र स्थिर सरकार भएको दाबी गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४७ औँ वार्षिक साधारण सभामा बोल्दै उहाँले अहिलेको संसदीय अङ्कगणित अनुसार सरकारलाई चुनौती दिने शक्ति नै नभएको प्रष्ट पार्नुभयो । ‘अहिलेको सरकार जुन छ, यो भन्दा बलियो र स्थिर अर्को कुनै सरकार हुनै सक्दैन, देशका दुईवटा ठुला राजनीतिक दलको सरकार छ, केही साना दल पनि सरकारमा छन्, हामीले राजनीतिक स्थिरताको सुनिश्चितता गरिसकेका छौँ, अब सरकार कहिले फेरिन्छ भन्ने आशङ्का र दुबिधाबाट मुलुक बाहिरिइसकेको छ’, उहाँले भन्नुभयो ।
उहाँले इतिहास, योगदान र भविष्य भएका ठूला दुई दलको सहकार्यबाट बनेको यो सरकार आगामी ०८४ को निर्वाचनसम्म स्थिर रूपमा अघि बढ्ने बताउनुभयो । सरकारले नीति, कार्यक्रम र बजेटका माध्यमबाट महत्त्वपूर्ण घोषणा भएको उहाँले स्पष्ट पार्नुभयो । त्यसले देशको विकास र समृद्धिको यात्रालाई अघि बढाउने पौडेलले विश्वास दिलाउनुभयो ।
मन्त्री पौडेलले सरकारले पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिएको उल्लेख गर्दै नीति, कार्यक्रम र बजेटमार्फत यस क्षेत्रमा प्राथमिकता दिएको बताउनुभयो । उहाँले पर्यटन प्रवर्द्धनका लागि सरकारले चाल्नुपर्ने हरेक कदम चाल्ने प्रतिबद्धता पनि जनाउनुभयो । ‘सरकार सम्पूर्ण रूपमा यहाँहरूको साथमा छ’, पौडेलले भन्नुभयो ।
पौडेलले करबाट नै राज्य सञ्चालन हुने भएकोले कर छुटको भन्दा पनि व्यवसाय प्रवर्धनका योजना ल्याउन व्यवसायीलाई आग्रह गर्नुभयो । ‘ट्याक्स छुट गरेर राज्य कसरी चल्छ रु साधारण खर्च धान्नै धौ–धौ पर्छ भने विकासको कुरा अझै टाढा हुन्छ, ट्याक्स छुट भन्दा पनि व्यवसाय प्रवर्द्धनका लागि तपाईँहरूको ठोस प्रस्ताव आउनुपर्छ, सरकार सम्बोधन गर्न आतुर छ’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया