नेकपा एमाले मधेश प्रदेश कमिटीले लगातार तीन वटा बैठकमा सहभागी नभएका १९ जना सदस्यलाई बिदा गरेको छ। पार्टी विधानअनुसार लगातार अनुपस्थित हुने सदस्यलाई स्वतः कमिटीबाट हटाइने व्यवस्था रहेकोले उहाँहरूलाई बिदा गरिएको कमिटीका सचिव मनोज पौडेलले जानकारी दिए।
बिदा हुने सदस्यहरूमा पर्साबाट बसरुदिन अंसारी, मोहम्द सलिम मंसुरी र किरण देवी गुप्ता रहेका छन्। बाराबाट सीता सुवेदी, रौतहटबाट करिश्मा देवी बैठा, हिरा मगर खपागी र परनिया देवी, सर्लाहीबाट महम्द जुनेद रिजवी र अगुरी खातुन, महोत्तरीबाट रेखा कुमारी र अमरिका देवी, धनुषाबाट पाण्डब मलिक डोम, तेज नारायण साह र रेनु देवी, सिरहाबाट सम्झना थपालिया तथा सप्तरीबाट मोहम्द कलिम मियाँ, मंजु देवी साह, दिपक कुमार झा र गंगा प्रसाद यादव रहेका छन्।
“लगातार तीन बैठकमा अनुपस्थित हुनेलाई पार्टी विधानअनुसार बिदा गर्ने व्यवस्था छ। यही प्रावधानका कारण यी साथीहरूलाई कमिटीबाट बिदा गरिएको हो।”सचिव पौडेलले भने,
बिदा भएकामध्ये पर्साकी किरण देवी गुप्ता यसअघि नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेकी थिइन्। तर हालै फेरि उनी कांग्रेसमै फर्किएको एमालेका एक नेताले बताएका छन्।
यस्तै, एमाले मधेश प्रदेश कमिटीको बैठकले भदौ महिना भित्रै सदस्यता नवीकरण र वितरणको सम्पूर्ण कार्य सम्पन्न गर्ने निर्णयसमेत गरेको छ। उपाध्यक्ष बिचारी यादवका अनुसार सदस्यता नवीकरणलाई तीव्रता दिने गरी कार्ययोजना अघि बढाइएको छ।
प्रतिक्रिया