झापा : झापाको भद्रपुर नगरपालिका-१० स्थित सत्रबिगेमा आफ्नै हजुरआमामाथि खुकुरी प्रहार गरी फरार रहेका नातिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय (जिप्रका) झापाले दिएको जानकारीअनुसार २७ वर्षीय महेश सुबेदीलाई मिति २०८२ भदौ ९ गते साँझ पक्राउ गरिएको हो।
गत असार १२ गते बिहान करिब ५ बजेतिर सुबेदीले आफ्नी ७२ वर्षीया हजुरआमा खिनमाया सुबेदीसँग पैसा माग्दा नदिएको कारण देखाउँदै रिसको आवेगमा खुकुरी प्रहार गरी घाइते बनाएका थिए। घटनापछि फरार रहेका उनलाई निरन्तर खोजीकार्यपछि प्र।नि विजय चौहानको कमाण्डमा खटिएको प्रहरी टोलीले सत्रबिगेस्थित आफ्नै घरबाट नियन्त्रणमा लिन सफल भएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, पक्राउ परेका सुबेदीविरुद्ध यसअघि नै ज्यान मार्ने उद्योग मुद्दा दर्ता भई पक्राउ पुर्जी समेत जारी भइसकेको थियो। पक्राउ पश्चात उनलाई आवश्यक अनुसन्धानका लागि जिप्रका झापामा राखिएको र भदौ १० गते जिल्ला अदालत झापामा पेश गरी म्याद थपका लागि प्रक्रिया अघि बढाइने जनाएको छ।
स्थानीयवासीका अनुसार, अपराध अनुसन्धान र अपराधी नियन्त्रणमा सधैं अग्रसर रहँदै आएका प्र।नि विजय चौहान जुनसुकै खालका अपराधी नियन्त्रणमा अब्बल मानिँदै आएका छन् । पछिल्ला घटनामा समेत उनले देखाएको सक्रियता र दृढताले अपराध नियन्त्रणमा प्रहरीको भूमिकाप्रति स्थानीय बासिन्दामा थप विश्वास जगाएको छ ।
प्रतिक्रिया