वीरगञ्ज : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले कांग्रेसलाई कमजोर बनाउने प्रयास गरिरहेको आरोप लगाएका छन्।
नेपाल प्रेस युनियन पर्साले बिहीबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार बनेको एक वर्ष बितिसक्दा पनि जनतामा उत्साह जगाउने काम गर्न नसकेको बताए। महरले कांग्रेस पनि सरकारमा सहभागी भए पनि एमालेको मात्रै हालीमुहाली भएको र कांग्रेस निरीह बन्न पुगेको गुनासो गरे।
उनले भने, “संघ, प्रदेश र स्थानीय तह सबैमा कांग्रेस सबैभन्दा ठूलो दल हो, तर सरकारमा कांग्रेसको भूमिका कमजोर हुँदै गएको छ। जनतासँग जोडिएको कुनै उत्साहजनक काम नभएपछि पार्टी बदनाम भइरहेको छ।”
महरले वर्तमान सरकारले मधेस प्रदेशसँग बजेटको बाँडफाँडमा विभेदपूर्ण व्यवहार गरेको आरोप पनि लगाए। उनले भने, “देशलाई सबैभन्दा बढी राजस्व र रेमिट्यान्स दिने प्रदेश मधेस हो। तर संघीय सरकारले ल्याएको बजेटमा मधेस उपेक्षित छ, जुन दुखद छ।”
उनले राजनीतिक दलका नेता–कार्यकर्ता इमानदार र चरित्रवान भए मात्रै सरकार जनहितमा काम गर्न सक्ने भन्दै सबै दलभित्र शुद्धिकरण आवश्यक रहेको धारणा राखे। उनले कांग्रेसको शुद्धिकरण अभियान नेतृत्वबाटै सुरु हुनुपर्नेमा जोड दिए।
त्यस्तै, महरले कांग्रेसको १५औं महाधिवेशन तोकिएको समयमा हुन कठिन देखिएको र त्यसका लागि नेता–कार्यकर्ताबाट दबाब आवश्यक भएको बताए।
पत्रकार सम्मेलनमा वीरगञ्ज महानगरका उपमेयर इम्तियाज आलम, कांग्रेसका पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, प्रेस युनियनका केन्द्रिय सदस्य श्रीराम रायमाझी, मधेस प्रदेश लेखा समिति सदस्य तथा पत्रकार महासंघ पर्साका सदस्य राहुल गुप्तालगायतको सहभागिता थियो।
प्रतिक्रिया