वीरगञ्ज : नेपाल धितोपत्र बोर्डको आयोजनामा र नेपाल पत्रकार महासंघ, पर्साको सहकार्यमा आर्थिक पत्रकारहरूलाई लक्षित गरी एक दिने अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम वीरगञ्जमा सम्पन्न भएको छ। कार्यक्रम वीरगञ्जस्थित क्लासिक होटेलमा आयोजना गरिएको हो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले संयुक्त रूपमा ब्यानर पढेर औपचारिक शुभारम्भ गरेका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षता रहेको थियो भने महासंघको केन्द्रीय लेखा समितिका संयोजक केसी लामिछाने प्रमुख अतिथिको रूपमा उपस्थित थिए।
विशिष्ट अतिथिको रूपमा नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, नेपाल धितोपत्र बोर्डका प्रतिनिधि मिलन मगर, विनोद महर्जन लगायतका व्यक्तिहरूको उपस्थिति थियो।
कार्यक्रममा वीरगञ्जका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले पूँजी बजारका संरचना, कार्यप्रणाली, नियमन प्रणाली, लगानी सुरक्षाका उपायहरू तथा बजार विश्लेषणसम्बन्धी विषयमा विस्तृत जानकारी लिएका थिए।
धितोपत्र बोर्डका प्रतिनिधिहरूले नेपालको पूँजी बजारको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे प्रस्तुति दिएका थिए। साथै, पत्रकारिताको अभ्यासमा पूँजी बजारसम्बन्धी समाचार लेख्दा ध्यान दिनुपर्ने तथ्यहरू, स्रोतको विश्वसनीयता र सत्यापन प्रक्रिया बारेमा पनि जानकारी दिइएको थियो।
कार्यक्रमको समापनमा सहभागी पत्रकारहरूले यस्ता प्रशिक्षणले आर्थिक पत्रकारितामा गहिरो ज्ञान र व्यावसायिकता थप्ने जनाउँदै आगामी दिनहरूमा अझ व्यवहारिक र क्षेत्रीय स्तरका तालिम आयोजना हुनुपर्ने अपेक्षा व्यक्त गरेका थिए।
प्रतिक्रिया