वीरगञ्ज : वीरगञ्जमा विपद् व्यवस्थापनमा स्थानीय समुदायको सक्रियता अभिवृद्धि गर्ने उद्देश्यसहित २१ दिने समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु गरिएको छ। तालिम सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजना तथा वीरगञ्ज महानगरपालिकाको संयोजनमा सञ्चालन गरिएको हो।
३० जना सहभागी सो तालिमको उद्घाटन वीरगञ्ज महानगरपालिका कार्यालयको सभाहलमा गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह रहेका थिए। उनले स्थानीय तहमा विपद् व्यवस्थापनका लागि तयार रहने संयन्त्र निर्माण गर्न यस्ता तालिमहरू अपरिहार्य भएको बताए। “समुदायका सदस्यहरू स्वयं सक्रिय भई विपद् न्यूनीकरण र प्रतिकार्यमा लाग्नु अहिलेको आवश्यकता हो,” उनले जोड दिए।
तालिमको उद्घाटन सत्रमा विशिष्ट अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका अध्यक्ष बृजकिशोर पटेलको समेत उपस्थिति रहेको थियो।
तालिम शुभारम्भ कार्यक्रमको अध्यक्षता सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गणका गणपति, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले गर्नुभएको थियो।
सशस्त्र प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता देवेन्द्र बहादुर सिंहले तालिमका विषयमा जानकारी दिँदै यस किसिमका कार्यक्रमहरू विपद् जोखिम न्यूनीकरण र स्थानीयस्तरमा द्रुत प्रतिक्रिया संयन्त्र विकास गर्न सशक्त माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँका अनुसार तालिमको क्रममा विपद्को पूर्वतयारी, तत्कालीन उद्धार, जनचेतना अभिवृद्धि, प्राथमिक उपचार, सामुदायिक समन्वय लगायतका विषयमा व्यावहारिक ज्ञान प्रदान गरिनेछ।

प्रतिक्रिया