३० वैशाख, काठमाडौं । अविरल वर्षाका कारण हिजो (सोमबार) रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
केहीबेर अघिबाट राजमार्ग दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरीले जानकारी दिए ।
बीपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाएको थियो ।
बगाएको डाइभर्सन पुरिएको र खोला डाइभर्ट गरिएको उनले बताए ।
‘बिहानै ८ बजेदेखि सडक विभागको ४ वटा जेसीबी, ५ वटा टिपर लगेर कल्भर्टहरू बगाएको ठाउँमा फिलिङ गरिएको छ,’ गिरीले भने, ‘अहिले सडक पूर्ण रुपमा सञ्चालमा आएको छ ।’
पूर्वबाट आइरहेको सवारीलाई खुर्कोट र नेपालथोकमा तथा काठमाडौंबाट पूर्व गइरहेका गाडीलाई भकुण्डेबेसीमा रोकिएको थियो ।
अहिले रोकिएका सवारीहरू विस्तारै सञ्चालनमा ल्याइएको हो ।
प्रतिक्रिया