विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेश सहनीले विद्यालयका विभिन्न कक्षाकोठामा पुगेर शैक्षिक गतिविधि तथा कक्षाको वातावरणको प्रत्यक्ष निरीक्षण गर्नुभएको हो। अनुगमनका क्रममा उहाँले विद्यालयको शैक्षिक वातावरणलाई थप गुणस्तरीय, मर्यादित र प्रभावकारी बनाउन प्रधानाध्यापक मनोज कुमार यादवलाई आवश्यक निर्देशन दिनुभएको थियो।
अध्यक्ष सहनीले विद्यालयमा अनुशासनलाई कडाइका साथ कार्यान्वयन गर्न तथा विद्यार्थीलाई नियमित रूपमा गृहकार्य दिने व्यवस्था मिलाउन निर्देशन दिनुभएको बताइएको छ। विद्यार्थीको सिकाइ उपलब्धि बढाउन शिक्षक, विद्यार्थी र विद्यालय प्रशासनबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा समेत उहाँले जोड दिनुभएको छ।
व्यवस्थापन समितिको निर्देशनपछि प्रधानाध्यापक यादवले विद्यालयका सम्पूर्ण विद्यार्थीलाई विद्यालयको नियम तथा अनुशासन पूर्ण रूपमा पालना गर्न निर्देशन दिनुभएको छ। विद्यालयको अनुशासन उल्लङ्घन गर्ने विद्यार्थीमाथि विद्यालयको नियमअनुसार कडा कारबाही गरिने चेतावनीसमेत उहाँले दिनुभएको छ।
विद्यालय व्यवस्थापन समितिको नियमित अनुगमनले कक्षाकोठामा शिक्षकको उपस्थितिदेखि विद्यार्थीको अनुशासन, गृहकार्य तथा समग्र शैक्षिक वातावरणमा सुधार ल्याउने अपेक्षा गरिएको विद्यालय पक्षले जनाएको छ।
