बुधबार ईक्रान्ति खबरका सम्वाददातासंग कुरा गर्दै प्रमुख प्रशासकीय अधिकृत साहले विद्यालयमा स्थायी, योग्य तथा सक्षम प्रधानाध्यापक नियुक्तिका लागि अघि बढाइएको पदपूर्ति प्रक्रिया रोकिएको भन्ने समाचारमा सत्यता नरहेको स्पष्ट पारेका हुन।
गाउँपालिका अध्यक्षले प्रधानाध्यापक पदपूर्तिसम्बन्धी सूचना स्थगित गरेको भन्दै केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका सामग्री तथ्यहीन र भ्रामक रहेको प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले स्पष्ट पार्नुभएको छ। उहाँका अनुसार पदपूर्तिसम्बन्धी सूचना कानुनी प्रक्रिया पूरा गरेर नै प्रकाशित गरिएको हो र हालसम्म प्रक्रिया रोक्ने कुनै निर्णय नभएको स्पष्ट पार्नुभयो ।
उनले भने “प्रधानाध्यापक नियुक्तिको प्रक्रिया रोकिएको छैन, कानुनअनुसार निरन्तर अघि बढिरहेको छ, “भ्रामक सूचना र हल्लाको पछि नलाग्न सम्बन्धित सबैलाई आग्रह गर्दछु।”
साहका अनुसार शिक्षा नियमावली, २०५९ को दशौँ संशोधनमा रहेका व्यवस्था तथा प्रावधानलाई आधार बनाएर गाउँपालिकाका माध्यमिक तथा आधारभूत तहका विद्यालयमा योग्य नेतृत्व छनोट गर्ने उद्देश्यले दरखास्त आह्वान गरिएको हो।
विद्यालयको शैक्षिक गुणस्तर सुधार, प्रधानाध्यापकको नेतृत्व क्षमता अभिवृद्धि तथा विद्यालय व्यवस्थापनलाई थप व्यवस्थित बनाउने उद्देश्यले योग्य शिक्षकबाट आवेदन माग गरिएको बताएका छन ।
प्रमुख प्रशासकीय अधिकृत साहका अनुसार गाउँपालिकाले १३ वटै सामुदायिक विद्यालयमा योग्यता, क्षमता र कानुनी मापदण्डका आधारमा प्रधानाध्यापक छनोट गर्ने प्रक्रिया अघि बढाइने बताए। यसले लामो समयदेखि विद्यालय नेतृत्व तथा व्यवस्थापनमा देखिएका चुनौतीलाई सम्बोधन गर्दै शैक्षिक सुधारलाई संस्थागत गर्ने अपेक्षा समेत गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत साहले पदपूर्ति प्रक्रियाबारे कुनै अन्योल भए गाउँपालिकाको आधिकारिक सूचना तथा सम्बन्धित निकायबाट जानकारी लिन आग्रह गर्नुभएको छ।
प्रमुख प्रशासकीय अधिकृत साहले भने गाउँपालिकाको स्पष्ट सन्देश छ, हल्लाले होइन, कानुनी प्रक्रियाले प्रधानाध्यापक नियुक्ति हुन्छ। १३ वटै विद्यालयमा योग्य नेतृत्व चयनको प्रक्रिया निरन्तर अघि बढ्ने जानकारी दिए।
यता पालिका अध्यक्ष सुरेश मेहताले भने प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै उक्त सूचना तत्काल स्थगन गरी पुनरावलोकन गर्न निर्देशन दिएका थिए।
