गाउँपालिकाको कार्यालयले प्रकाशित गरेको सूचनाअनुसार शिक्षा नियमावली, २०५९ को दशौँ संशोधन तथा सम्बन्धित कानुनी व्यवस्थालाई आधार मानी विभिन्न विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। सूचनामा माध्यमिक तथा आधारभूत तहका विभिन्न विद्यालयमा प्रधानाध्यापक पदका लागि आवेदन माग गरिएको छ।
गाउँपालिकाले श्री रामचरित्र भगत माध्यमिक विद्यालय, पकहाँमैनपुर–३, श्री ने.रा.मा.वि. धोरे–१, श्री संसारिमाई मा.वि. सुर्जाह–२ लगायत माध्यमिक तहका विद्यालय तथा आधारभूत तह सहित १३ वटा विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रधानाध्यापक पदपूर्तिमा योग्य, अनुभवी र सम्बन्धित तहमा कार्यरत शिक्षकलाई अवसर दिने गरी आवश्यक शैक्षिक योग्यता, स्थायी सेवा तथा अनुभवसम्बन्धी मापदण्डसमेत सूचनामा स्पष्ट गरिएको छ। यसले विद्यालय नेतृत्वलाई योग्यताका आधारमा व्यवस्थित गर्ने गाउँपालिकाको प्रयासलाई प्रतिबिम्बित गरेको छ।
विशेषगरी विद्यालयको शैक्षिक गुणस्तर सुधार, प्रशासनिक व्यवस्थापन मजबुत बनाउने तथा योग्य नेतृत्वमार्फत विद्यालय सञ्चालनलाई प्रभावकारी बनाउने विषयमा गाउँपालिकाले देखाएको सक्रियतालाई सकारात्मक रूपमा हेरिएको छ।
स्थानीय तहमा शिक्षा क्षेत्रका विषयमा जनप्रतिनिधि र कर्मचारीबीच हुने प्रभावकारी समन्वयले नतिजामुखी काम गर्न सकिने उदाहरणका रूपमा पछिल्लो पहललाई लिन सकिन्छ। गाउँपालिका अध्यक्ष मेहताको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत साह र शिक्षा शाखा प्रमुख गिरीले कानुनी प्रक्रिया र प्रशासनिक व्यवस्थापनलाई जोड दिँदै अघि बढाएको यो कदमले विद्यालयमा नेतृत्वको स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।
विद्यालय सुधारका लागि योग्य नेतृत्व आवश्यक हुन्छ’ भन्ने मान्यतालाई आत्मसात गर्दै पकहाँमैनपुर गाउँपालिकाले अघि बढाएको प्रधानाध्यापक पदपूर्ति प्रक्रिया शैक्षिक क्षेत्र सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा देखिएको छ। अब छनोट प्रक्रिया निष्पक्ष, पारदर्शी र योग्यताका आधारमा सम्पन्न गर्दै गाउँपालिकाले आफ्नो सकारात्मक पहललाई परिणाममा परिणत गर्नुपर्ने अपेक्षा स्थानीयस्तरमा गरिएको छ।

