पर्सा क्षेत्र नम्बर ३ का नेकपा एमालेका युवा नेता रुपेश पाण्डेले सरकारविरुद्ध ‘राजनीतिक प्रतिशोध’मा उत्रिएको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत तीव्र प्रतिक्रिया जनाउँदै हाल जारी भएको पक्राउ पूर्जीलाई पूर्ण रूपमा गैरकानुनी र मनोमानी भएको बताएका छन्।
पाण्डेका अनुसार कुनै घटना घटेको, अभियुक्त फरार रहेको वा प्रमाण नष्ट हुने अवस्था सिर्जना नभएको अवस्थामा “जरूरी पक्राउ पूर्जी” जारी गर्नु कानुनी प्रक्रियाविरुद्ध रहेको छ। उनले टिप्पणी गरे(अहिले कुनै घटना घटेको छैन। त्यस्तो अवस्था छैन। यस्तो अवस्थामा जारी भएको पक्राउ पूर्जी गैरकानुनी छ।”
उनले कार्की आयोगको प्रतिवेदनका आधारमा पक्राउ प्रकृया अघि बढाइएको भए त्यसलाई पनि ‘जरूरी पक्राउ’ को कानुनी दायरामा नपर्ने स्पष्ट दाबी गरे। “बिषय मिलेन, प्रक्रिया मिलेन। सरकारले प्रतिशोधमा आइसकेको देखिन्छ,” पाण्डेले लेखेका छन्।
सरकारको यो कदम लोकतान्त्रिक मूल्य–मान्यता विपरीत रहेको उल्लेख गर्दै पाण्डेले उक्त निर्णयको कानुनी तथा राजनीतिक रुपमा प्रतिवाद हुने चेतावनी दिएका छन्। “निन्दनीय काम हो१ राजनीतिक प्रतिशोध बन्द गर,” भन्दै उनले सो कदमको खुलेर विरोध जनाएका छन्।

प्रतिक्रिया