पर्सा–नेकपा एमालेका केपी शर्मा ओली विरुद्ध जारी गरिएको पक्राउ पूर्जीप्रति पार्टीभित्रै तीव्र विरोध व्यक्त भएको छ। नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा ले सामाजिक सञ्जालमार्फत आफ्नो स्पष्ट धारणा प्रस्तुत गर्दै वर्तमान कार्यवाहीलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहपूर्ण कदम भएको उल्लेख गरेका छन।
हजरा अनुसार, “पूर्वाग्रह र प्रतिशोधको मूल्य अत्यन्तै महँगो हुन्छ। कुनै ठोस प्रमाण वा कानूनी आधार नदेखाई, पार्टी अध्यक्षमाथि यस प्रकारको कदम चाल्नु पूर्ण रूपमा गैरकानुनी र अस्वीकार्य छ। जिम्मेवार बन्न सरकारलाई तत्काल कदम चाल्नुपर्छ। अध्यक्षलाई अविलम्ब रिहा गर्नुपर्छ।” उनले थपे, “यो केवल एक व्यक्तिगत मुद्दा मात्र होइन, सम्पूर्ण लोकतान्त्रिक प्रक्रियामाथि गरिएको प्रतिशोध हो। जनताले यसलाई सहनु हुँदैन।”
पार्टी स्रोतका अनुसार, यो कदमले नेकपा एमाले र यसका समर्थकबीच थप राजनीतिक तनाब सिर्जना गरेको छ। पर्सा जिल्लामा समेत एमाले कार्यकर्ताले अब सडक र अन्य सार्वजनिक माध्यमबाट आफ्नो विरोध प्रदर्शन तीव्र पार्ने तयारी थालेका छन्। हजरा र अन्य नेताहरूले सरकारको निर्णयलाई कानूनी तथा राजनीतिक हिसाबले चुनौती दिने तयारी गरिरहेको जानकारी प्राप्त भएको छ।
एमाले भित्रका नेताहरूले समाजमा फैलिएको असन्तुष्टि र सरकारको पक्षपातपूर्ण व्यवहारको विरोधमा व्यापक चेतावनी जारी गरेका छन्। हजरा भन्छन्, “राजनीतिक प्रतिशोध र पूर्वाग्रहले लोकतन्त्रलाई कमजोर पार्छ। हामी शान्तिपूर्ण तर दृढ ढंगले विरोध गर्न बाध्य छौं।”
यसैबीच, पार्टी भित्र अध्यक्ष ओलीको रिहाइका लागि गठित समूहले विभिन्न जिल्ला तथा प्रदेश स्तरमा आन्दोलनको रूपरेखा तय गरेको छ। कार्यकर्ताहरूले कानुनी र राजनीतिक दुवै माध्यमबाट आफ्नो आवाज उठाउने रणनीति बनाइसकेको जनाइएको छ।

प्रतिक्रिया