वीरगञ्ज- पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–११ रानीघाट–श्रीपुर क्षेत्रमा जनमत पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फले आइतबार व्यापक घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्। चुनाव नजिकिँदै जाँदा पर्सा–१ मा राजनीतिक सरगर्मी बढिरहेका बेला सरार्फको सक्रियता पनि तीव्र बन्दै गएको छ।
घरदैलोका क्रममा सरार्फले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै टोल–टोलमा देखिएका समस्या सुनेका थिए। विशेषगरी खानेपानीको अभाव, जीर्ण सडक, ढल व्यवस्थापनको कमजोरी र बेरोजगारीका विषयमा स्थानीयले गुनासो राखेका थिए। जवाफमा सरार्फले खानेपानी पाइपलाइन विस्तार, ढल निकास व्यवस्थापनको स्तरोन्नति र सडक पूर्वाधार सुधारलाई आफ्नो पहिलो प्राथमिकता रहने प्रतिबद्धता जनाए।
उनले रानीघाट–श्रीपुर क्षेत्रमा दीर्घकालीन योजना अन्तर्गत सुरक्षित र नियमित खानेपानी आपूर्ति सुनिश्चित गर्ने, बाढी तथा वर्षायाममा हुने डुबान समस्यालाई समाधान गर्न वैज्ञानिक ढल प्रणाली विकास गर्ने तथा स्थानीय युवालाई रोजगारीसँग जोड्ने कार्यक्रम अघि सार्ने बताए।
“विकासको नाममा वर्षौंदेखि आश्वासन मात्रै दिइयो, अब परिणाममुखी काम आवश्यक छ,” सरार्फले स्थानीयसँगको संवादमा भने, “पर्सा–१ लाई आधारभूत सेवाबाट वञ्चित राख्ने प्रवृत्ति अन्त्य गरेर सुशासनसहितको दिगो विकासमा जनमत पार्टी प्रतिबद्ध छ।”
उनले स्वास्थ्य र शिक्षालाई पनि समानान्तर प्राथमिकतामा राख्दै वडा–११ मा सामुदायिक स्वास्थ्य सेवा सुदृढीकरण, विद्यालयको भौतिक पूर्वाधार सुधार तथा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्ने योजना सार्वजनिक गरे। युवालाई सीपमूलक तालिममार्फत स्वरोजगार र उद्यमशीलतासँग जोड्ने कार्यक्रम ल्याउने उनको भनाइ थियो।
स्थानीयवासीहरूले पनि प्रत्यक्ष भेटघाट कार्यक्रमलाई सकारात्मक रूपमा लिँदै आफूहरूका समस्या प्रत्यक्ष सुन्न आएकोमा सरार्फप्रति धन्यवाद व्यक्त गरेका थिए।
पर्सा–१ मा विभिन्न दलका उम्मेदवारहरू आ–आफ्ना एजेन्डासहित मैदानमा उत्रिएका बेला जनमत पार्टीले आधारभूत सेवा, पूर्वाधार र रोजगारीलाई केन्द्रमा राखेर अभियान अघि बढाएको देखिन्छ। रानीघाट–श्रीपुरमा सम्पन्न कार्यक्रमले जनमतको चुनावी सक्रियता थप बढाएको देखिन्छ ।

प्रतिक्रिया