वीरगञ्ज- प्याब्सन पर्साको आयोजनामा जारी प्याब्सन नेपाल मेडिसिटी अन्तरविद्यालय टी–२० नक आउट क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत तेस्रो दिन तीन खेलहरू सम्पन्न भएका छन्। दिनभरका खेलहरूमा ज्ञानदा एकेडेमी, साउथ जोन र गौतम माध्यमिक विद्यालय विजयी बनेका छन्।
पहिलो खेलमा ज्ञानदा एकेडेमीले सिद्धार्थ नेशनल स्कुललाई ६४ रनले पराजित गर्यो। १५ ओभरको खेलमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको ज्ञानदाको लक्ष्य पछ्याएको सिद्धार्थ नेशनल ५१ रनमै अलआउट भयो। ज्ञानदाका खिलराज सर्राफ म्यान अफ द म्याच घोषित भए।
दोस्रो खेलमा साउथ जोन स्कुलले सूर्योदय स्कुललाई ६ विकेटले हरायो। टस हारेर ब्याटिङ गरेको सूर्योदय १४ ओभरमै अलआउट हुँदै १०० रनमा सीमित रह्यो। जवाफमा साउथ जोनले ११.४ ओभरमै ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। अशोक बैठक म्यान अफ द म्याच भए।
तेस्रो खेलमा गौतम माध्यमिक विद्यालयले माउन्ट मकालुलाई ६ विकेटले पराजित गर्यो। टस जितेर ब्याटिङ गरेको माउन्ट मकालु १५ ओभरमा ९ विकेट गुमाउँदै ५२ रनमै सीमित रह्यो। गौतमले १०.२ ओभरमै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्दै सहज जित हात पारे। विराट पाण्डे म्यान अफ द म्याच घोषित भए।
प्रतियोगिताको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलले दर्शक र खेलकुदप्रेमीको मन जित्न सफल भएको छ।

प्रतिक्रिया